धनगढी। कैलालीको टिकापुरबाट ३४ हजार ६ सय मूल्य बराबरको बेवारिसे अवस्थाका सामान बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय कैलाली मातहत रहेको प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीको सयुंक्त प्रहरी गस्ती टोलीले टीकापुर ९ स्थित पुरानो भन्सार इलाकाबाट उक्त बेवारिसे अवस्थाका सामान बरामद गरेको हो।
आइतबार जिल्लाको टीकापुर नगरपालिकाको वडा नम्बर ९ स्थित पुरानो भन्सार इलाकाबाट ३४ हजार ६ सय मुल्य बराबरको अनार ७० किलो, माछा मार्ने जालमा लगाउने सिसा, चिनी २० किलो, नुन १०० किलो, प्याज १० किलो, स्यामल सुर्ती २ पाकेट, पवन सुर्ती ४ पाकेट, दाह्री काट्ने रेजर (सानो) २२ पाकेट, दाह्री काट्ने रेजर (ठुलो) १२ पिस, बिडी २ पाकेट, कमला पसन ५० पिस, साईकलको चेन ५ पाकेट, साईकलको बोल्ट १० पिस, साइकलको काबेल १० पिस र २ वटा साईकल सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बेवारीसे सामान बरामद गरी आवश्यक कारबाहीको लागि मुल भन्सार कार्यालय सत्ती पठाइएको जनाइएको छ ।