टीकापुर। कर्णाली नदीले तटबन्ध कटान गर्न थालेपछि नदी गाउँ पस्ने खतरा बढेको छ । कैलालीको टीकापुर नगरपालिका वडा नं। ५ को शाहीपुर क्षेत्रमा निर्माण गरिएको तटबन्ध समेत कटान गरेपछि कर्णाली नदी गाउँ पस्ने खतरा बढेको हो । नदीमा पानीको सतह बढ्दै जाँदा कटान समेत बढ्दै गइरहेको छ । कर्णाली नदीको शाहीपुर वन क्षेत्रमा नदीले गत वर्ष निर्माण गरिएको १ सय ५० मिटर बढी तटबन्ध भत्काएको छ । दैनिक रुपमा कटान हुन थालेपछि टीकापुर नगरपालिका वडा नं. ५, ६, ७ र ८ का स्थानीयहरु त्रसित बनेका छन् । नदीले सो क्षेत्रमा कटान गर्दा शाहीपुर हुँदै नारायणपुर र सत्ती क्षेत्रमा नदी पस्ने खतरा छ ।
केही दिन अघिदेखि नै नदीले कटान गर्न थालेपछि यतिबेला स्थानीय किसान, नेपाली सेना, सशस्त्र प्रहरी लगायतले जैविक तटबन्ध निर्माण गरेर रोकथामको प्रयास गरिरहेका छन् । राष्टिय गौरबको रानी, जमरा, कुलरिया सिचाई आयोजनाले गत वर्ष निर्माण गरेको तटबन्ध र लञ्चर बगाइसकेको छ । टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले गत वर्ष निर्माण गरिएको तटबन्ध र लञ्चर बगाएपछि नदीले कटान तिब्र पारेको बताए । रावलले नदी नियन्त्रणका लागि सुरक्षाकर्मी, किसान र नगरपालिकाले पहल गरिरहेको बताए । टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद अर्यालले नदीले कैलालीतर्फ धार फेरेको र नदी साँघुरिएका कारण वर्षेनी कटानको समस्या हुने गरेको बताए ।
रानी, जमरा, कुलरिया सिचाईं आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर अनुभव चौधरीले कर्णाली नदीले कटान गर्न थालेपछि किसान, सुरक्षाकर्मी र आयोजनाको सहकार्यमा स्थानीय कच्चा पदार्थ प्रयोग गरेर जैविक तटबन्ध निर्माण भइरहेको बताए ।कर्णाली नदीको चिसापानीबाट दक्षिणी क्षेत्रमा नदीको बीचमा थुप्रै टापुहरु रहेका छन् । वर्षेनी ती टापुहरुमा बालुवा थुप्रिने गर्दा नदीले धार परिवर्तन गरेर निर्माण गरेको तटबन्ध समेत भत्काउँदै आएको छ। राष्टिय गौरबको रानी, जमरा, कुलरिया सिचाईं आयोजना शुरु भएसँगै कर्णाली नदीले कटान गर्दै आएको कमाण्ड क्षेत्रभित्रका जमिन सुरक्षाका लागि तटबन्ध गर्दै आएको भए पनि वर्षेनी कटानको समस्या भने कम हुन सकेको छैन ।

