दार्चुला। घरमा एक छाक टार्नै धौधौ रहेका राजन्ती धामीको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ। घरमा कमाउने श्रीमान जयसिंह बेपत्ता भएपछि घरमा चुल्हो बल्ने अवस्था नहुँदा भेट्न पुग्ने व्यक्तिले आर्थिक सहयोग गरेका हुन्। शुक्रबारसम्म विभिन्न निकाय र व्यक्तिबाट ४१ हजार आर्थिक सहयोग जुटेको छ। बेपत्ता जयसिंहका भाई नरेन्द्रसिंहका अनुसार छानविन समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले पीडित परिवारलाई भेटेर १० हजार आर्थिक सहयोग गरेका छन्। यस्तै व्यास गाउँपालिकाले २५ हजार, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला सचिव भरत मल्लले पाँच हजार तथा सशस्त्र प्रहरीका नरेन्द्र बडालले एक हजार आर्थिक सहयोग गरेका छन्।
बेपत्ता जयसिंहका एक छोरा, एक छोरी र श्रीमती छन्। “छोराछोरी सानै छन्, विदेश जाँदा लागेको ऋण तिर्नुपर्ने एकातिर छ, अर्कोतिर बुवाको जमिनले एक महिना पनि खान पुग्दैन”, हरकसिंहले भने। वैदेशिक रोजगारी खोज्न काठमाडौँ जाने क्रममा जयसिंह तुईन तर्दा बेपत्ता भएका हुन्। यसअघि दुई पटक विदेश गएका जयसिह सोचे अनुसार काम नपाएर र कोरानाका कारण छिट्टै घर फर्किएका थिए । विदेश जाँदा लागेको आठ लाख रुपैयाँ ऋण तिर्न नसकेपछि उनी पुन बैदेशिक रोजगारीमा जाने योजनामा थिए। घरमा कमाउने व्यक्ति वेपत्ता भएपछि घरमा निकै समस्या भएको आफन्तले जानकारी दिएका छन्।


