दार्चुला। महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गएको छानबीन समिति हेलिप्कटरमा माल प्रस्थान गरेको छ । शुक्रबार नेपाली सेनाको हेलिकप्टरमार्फत व्याँसको माल प्रस्थान गरेको हो । बिहीबार भारतीय बाटो हुँदै घट्नास्थल पुगेको छानबीन समितिको टोली आज नेपालतर्फको घट्नास्थल हेर्न हेलिकप्टरमार्फत त्यहाँ प्रस्थान गरेको जनाइएको छ । व्याससम्म पुग्न घोरेटो बाटो भत्किएको र सडकमा गाडी गुड्ने बाटो नभएकाले अनुगमन समिति हेलिकप्टरमार्फत व्याँस गाउँपालिका २ मालघाटको स्थलगत निरीक्षण गर्न तथा पीडित परिवारसँग छलफल गर्न गएको हो । बिहीबार नेपालतर्फ स्थलगत रुपमा अध्ययन गर्न टोली नआएको भन्दै स्थानीय र नेकपा विप्लव समूहका कार्यकर्ताले नारा जुलुस गरेका थिए। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबीन टोली गत मंगलबार देखि दार्चुलामा छ ।
साउन १५ गते माल गाउँबाट सदरमुकाम खलंगा आउने क्रममा जयसिह महाकाली नदीमा वेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन फुकालिदिदा धामी वेपत्ता भएको बताएपछि घट्ना अन्तर्राष्ट्किरण भएको छ । घट्नाको अनुसन्धान गर्न दबाब बढेपछि सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा पाँच सदस्यीय छानबीन समिति गठन गरेको थियो। छानबीन समितिमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् । तर माल जान हेलिकप्टरमा चार जनाको मात्रै सिट क्षमता भएपछि समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले माल जान पाएनन् ।