दार्चुला। दार्चुलाको महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गएको समिति सात दिनपछि भारतीय बाटो हुँदै घट्नास्थल पुगेको छ । नेपाल भारतका सुरक्षा अधिकारीसहित छानबीन टोली घट्नास्थल निरीक्षणमा पुगेको हो । व्याँस गाउँपालिका २ मालघाटको स्थलगत निरीक्षण गर्न नेपाली सुरक्षा अधिकारी, छानबीन समिति भारतीय एसएसबी सँगै घट्नास्थल पुगेका थिए। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबीन टोली दार्चुलाबाट धारचुला भारत हुँदै गस्कु–मालघाट पुगेका थिए । घट्नास्थल पुगेको छानबीन समितिले तुइन बाधिएको रुखको नापजाँच लिएको छ।
यसअघि जिल्लाबाट खटिएको अनुन्धान टोलीले दिएको विवरण अनुसारको घट्नास्थलको निरीक्षण गरिएको अनुगमन समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिइन्। महाकाली तर्न नेपालतिर काठको खम्बा गाडिएको छ भने भारततर्फ टुडीको रुख छ । तर दुवैतर्फ तार छैन् । रुखबाट तार झिकेको हो कि काटेको हो भन्ने देखिने गरी प्रमाण केही नदेखिएको अधिकारीहरु बताउँछन् । महाकाली नदी वारीपारी झण्डै ४५ मिटर छ । छानबीन समिति घट्नास्थल भएको ठाउँबाटै फर्किएको जोशीले बताउनुभयो । भारतीय एसएसबीले सहजीकरण मात्रै गरिदिएको हो उनले भनिन्, त्योबाहेक अन्य विषयमा छलफल भएको छैन् ।
छानबीन समितिमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् । यस्तै छानबिन टोलीसँगै सशस्त्र प्रहरी ४४ नम्बर गण दार्चुलाका गणपति नरेन्द्र बम तथा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टपनि घटनास्थल पुगेका थिए । भारतको तर्फबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) कमाण्डेन्ट महेन्द्र प्रताप सिंह नेतृत्वको टोली सहभागि थिए ।


