हरिश भट्ट धनगढी : देशमा तिन तहको सरकार आएर राज्य संरचना फेरिएको लामो समय भइसक्यो । तर, कैलालीको मोहन्याल गाउँपालिकाका जनताका दुःख र पिडा अझै उस्तै छन । यती मात्रै हाइनः बाटो राम्रो नभएकै कारण मोहन्याल गाउँपालिकाको सोल्टा जाने बाटोमा जिप दुर्घटनाका घटना बेला बेला भइरहन्छन । गत शुक्रबार डडेल्धुरा घर भई डोटी बस्दै आउनुभएका दुई जना कर्णालीमा जिप खस्दा बेपत्ता भएका छन् । उनिहरुको अवस्था अहिले पनि अज्ञात छ । अछाम र बाजुरालाई तराईसँग जोड्ने छोटो दूरीको चिसापानी–जंगलघाट–मंगलसेन सडक योजना सुरु भएको पाँच दशक भयो । त्यसका लागि बजेट विनियोजन हुन बन्द भइसकेको छ भने नेताहरूले पनि आफ्नो भाषणमा त्यो बाटोको चर्चा छोडिसकेका छन् । सर्वसाधारणले भने कमजोर नेतृत्व बर्गका कारण सडक बन्न नसकेको गुनासो गरेका छन ।
२०२८ सालमा तत्कालीन अछाम जिल्ला पञ्चायतका सभापति हरिप्रसाद भण्डारीले चिसापानी–जंगलघाट–मंगलसेन ट्र्याक्टर सडक भनेर राजा महेन्द्रसँग योजना माग गरेका थिए । राजाको पालामा सडकको योजना त बन्यो । तर, त्यसले अहिलेसम्म गति लिएको छैन । अछामका लागि अहिले धनगढी–अत्तरिया–डडेल्धुरा हँुदै मंगलसेनसम्म तीन सय किलोमिटरको पक्की मोटरबाटो छ । तर चिसापानी–जंगलघाट–मंगलसेन सडकको दूरी एक सय १० किलोमिटर मात्रै हो । तराईसँग पहाड जोड्ने छोटो दूरीको बाटो छिटो बन्नुपर्छ भन्ने सन्देश दिन २०२८ सालमा अछाम जिल्ला पञ्चायतका सभापति हरिप्रसाद भण्डारीले कैलालीसँग सीमा जोडिएको भारतको तिकुनियाबाट जिप बोकाएरै मंगलसेन पु¥याएका थिए ।
‘तत्कालीन जिल्ला पञ्चायत सभापतिको यो विकासप्रतिको तीव्र इच्छा थियो, र सडक बनाउने योजना बनाएका थिए जिप चालक टोप बहादूर शाहीले भने ‘अहिलेका नेताहरु खै कहिले सडक बनाउने हुन या हामीहरु सवारी चालक र यहाँका जनतालाई निकै दुख छ ।’
चिसापानी हुँदै अछाम बाजुरा, कुहिने तरेर सुर्खेत, दैलेख कालिकोट, जुम्ला, हुम्ला, मुगु लगायतका जिल्लालाई जोड्नका लागि यो सडक योजना सुरु गरिएको हो । हरेक बर्ष यस सडकका नाममा बजेट आउने गरेको भएपनि सडकको प्रगती हुन नसकेको स्थानीय बताउँछन । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ का माया भुलले सडक बनाउन नेताहरुलेनै चासो नदेखाएको बताए । नेताहरुले चासो दिएको भए जमनामै बनिसक्थ्यो अब कोही चासो दिन्नन त कसरी बन्छ ? उनले भने ‘नेतालाई कुर्सीको माया छ याँ बाटो नभएर नागरिक नदीमा बगिरहेका छन् कसलाइै दुख्छ र हाम्रा पिडा ।’ राम्रो बाटो नभएकै कारण जिप दुर्घटनामा यहाँका नागरिकले ज्यान गुमाउनुपरेको उनको भनाई छ ।
अछामले प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी ११ जना सांसद पाएको छ । कैलालीबाट प्रतिनिधि सभा सांसद झपट रावलको क्षेत्र यहि हो । नेतृत्व बर्गले बाटो स्तरोन्नतीका लागि पहल गर्न नसकेको स्थानीयको गुनासो छ ।
सडक समृद्धिको आधार हो भन्ने चेतनाकै कारण चिसापानी हुँदै मंलसेनसम्म सडक आयोजनाको मागसहितको बिन्तीपत्र तत्कालीन राजालाई बुझाइएपछि २०२८ सालदेखि यो सडक निर्माण थालिएको अछामबाट प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले बताए । तर, अहिले सरकारको प्राथमिकतामा त्यो सडक परेको छैन ।
तर, प्रदेशसभा सदस्य रतन थापाले प्रदेश सरकारबाट बाटोमा पुल निर्माण भइरहेको तर बाटो स्तरोन्नतीका लागि थप बजेट नभएको बताए ।
प्रतिनिधि सभा सांसद झपट रावलले चिसापानी देखि कुहिले सम्म रणनीतिक सडक मार्गका लागि निबर्तमान प्रधानमन्त्री केपि शर्मा ओलिले उदघाटन गरि सकेको बताएका छन् । जसको लागि २५ करोड बजेट पनि छुट्याइएको भन्दै रावलले अब केही दिनमा बाताबरणिय प्रभाव मुल्यांकन हुने आस्वासन दिए ।