दार्चुला। महाकाली नदी पार गर्नेक्रममा स्थानीय जयसिंह धामी खसेर वेपत्ता भएको घटना बारे अध्ययन गर्न गठित कार्यदल टोली आज दार्चुला सदरमुकाम खलङ्गा पुग्दैछ। नेपाली भूभागबाट भारत प्रवेश गर्न लागेको बेला भारतीय सीमा सुरक्षा बल एसएसबीका २ जवानले तुइन चुँडालिदिएको र धामी महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् । यो घटनाको सत्यतथ्य बुझेर सार्वजनिक गर्नका लागि सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानविन समिति बनाएको थियो । समितिका सदस्य हिजो दार्चुलाका लागि हिडे पनि डडेलधुरा बसेर आज दार्चुला आउदै छन । समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । समितिका सदस्यसँगको छलफलका लागि तुइन चुँडिएर जयसिंह धामी वेपत्ता हुँदाका तीनजना प्रत्यक्षदर्शीलाई व्यासबाट खलङ्गा ल्याइएको छ ।अनुसन्धानमा सहयोगका लागि उनीहरू सदरमुकाम खलङ्गा आएको दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीले जानकारी दिनु भयो ।
प्रत्यक्षदर्शी बिक्रम रंकोली, कल्यान सिंह धामी र अनिता धामी हिजो राति करिब पौने आठ बजे जिल्ला सदरमुकाम दार्चुला पुगेको साहयक प्रजिअ जोशीले बताए । प्रहरी स्रोतले भने प्रत्यक्षदर्शीको सुरक्षाका लागि तीनै जना जिल्ला प्रहरी कार्यालयमा राखिएको जनाएको छ ।छानबिन समितिका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज दार्चुला आउन लागेको हो । सहसचिव गौतमको संयोजकत्वमा गठित छानविन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य छन् ।

