दार्चुला। दार्चुलाको गोकुलेश्वरमा अवैध रुपमा सञ्चालित अटो बन्द गर्न माग गर्दै जीप व्यवसायी आन्दोलित भएका छन् । अटो व्यवसायीहरुले कुनै मापदण्ड पुरा नगरी मनपरी ढंगले सञ्चालन गर्ने र रुट प्रमिट नभएको भन्दै अवैध रुपमा सञ्चालित अटो बन्द गर्न माग गर्दै जीप व्यवसायी आन्दोलित भएका हुन् । यस्तै जिप ब्यवसायीले अवैध रुपमा अटो सञ्चालन गर्नेलाई कारवाहीको माग समेत गरेका छन् । सोमबार जीप व्यवसायीहरुले ईलाका प्रहरी कार्यालय गोकुलेश्वरमा गई अटो व्यवासीहरुलाई वैधानिक रुपमा व्यवसाय सञ्चालन गराउन माग गरेका हुन । अटो व्यवसायीहरुकै कारण पछिल्लो समय आफुहरुको व्यवसाय चौपटमा परेको उनीहरु भनाई छ। नगरपालिकाले उनीहरुलाई १५ किलोमिटर सम्मको दुरीमा सवारी सञ्चालनको अनुमती दिएको छ ।
तर अटो व्यवसायीहरुले भने नगरपालिकाको अनुमती विपरीत निर्वाध रुपमा अटो सञ्चालन गरीरहेको पाइएको छ। हाल नगरपालिका भित्रका कतीपय अटो चालकहरुसंग सवारी चालक अनुमती पत्र छैन । उनीहरुले नियम विपरीत सञ्चालित अटोले भाडादर मनपरी कायम गरेको, छोटो दुरीका लागि सञ्चालन अनुमती पाएका अटोहरु जतिसुकै लामो दुरीमा समेत अटो गुडाइरहेको जिप ब्यवसायीले आरोप लगाएका छन् । यस्तै नगरपालिकाले उनीहरुलाई छोटो दुरीमा तरकारी तथा फलफुल जन्य र दुग्ध पर्दाथ ढुवानीका लागि मात्रै अनुमती दिएको हो । तर त्यसको ठिक विपरीत अटो व्यवसायीले सवारी प्रयोजनका लागि अटो प्रयोग गरीरहेको पाइएको छ। जसले गर्दा उनीहरु नियम विपरीत सञ्चालित छन भन्ने त प्रष्ट हुन्छ नै पहाडी भिरालो बाटोमा यात्रा गर्दा दुर्घट्नाको जोखिम समेत उत्तिकै बढेको छ ।