धनगढी। दार्चुलामा तुइनबाट खसेर युवक बेपत्ता भएको घटनाका दोषीलाई कारवाही गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन कैलालीले आग्रह गरेको छ। आइतबार जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय र प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गर्दै तत्काल घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ।
अनेरास्ववियूका संयोजक किशोर शाहद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘आफ्ना नागरिकको जीवन रक्षा गर्ने कर्तव्य र जिम्मेवारीबाट विमुख हुने छुट यो सरकारलाई छ रु अनेरास्ववियू यो सरकारलाई गम्भीर प्रश्न गर्दछ। तत्काल दोषीमाथि कारबाही पीडित पक्षलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न अनेरास्ववियू गम्भीर ध्यानाकर्षण गराउँदछ।’ साउन १५ गते व्यास गाउँपालिका–२, मालघाटमा ३३ वर्षीय जयसिंह धामी भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएका थिए।

