धनगढी। कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ। कैलालीको मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया धनसरा सलामीको शव फेला परेको घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय, सुँगरखाल कैलालीका इन्चार्ज राजेन्द्रबहादुर कुमालले जानकारी दिए । ‘बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ, भखरै घटनास्थलदेखि तीन सय मिटर तल एक महिलाको शव फेला पारेका छौं,’ इन्चार्ज कुमालले भने ।
कैलालीको मोहन्याल गाउँपालिका–३ राँगा पलेखा नजिकै दिउँसो १२ बजेतिर नदीमा डुंगा पल्टिँदा ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बेपत्ता हुनेमा सोही ठाउँका २० वर्षकी उर्मिला सलामी मगर, उनको १० दिनको शिशु र २० वर्षकी पार्वती थापा रहेका छन्। कैलालीको मोहन्याल गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिका बीचमा पर्ने कर्णाली नदीमा डुंगा पल्टिँदा एक गर्भवती महिलासहित तीनजना बेपत्ता भएका थिए। उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । १० जना सवार रहेको डुंगा पल्टिँदा दुई जना घाइते भएको र पाँच जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।