दार्चुला। दार्चुलामा तुईन काट्ने एसएसबी बिरुद्ध भारतीय पुलिस थानामा जाहेरी दर्ता गरिएको छ। जिल्लाको महाकाली नदीमा रहेको तुईनवाट युवक तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि युवक बेपत्ता भएको घटनालाई लिएर पिडित युवकका परिवारले प्रहरीमा जाहेरी दर्ता गराएका छन् । दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा भारतीय एसएसबीले तुइन काटिदिएपछि व्यासमा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको भन्दै पीडित पक्षले भारतीय पुलिस थानामा जाहेरी (एफआईआर) दर्ता गराएका हुन्।तुइन तर्नेक्रममा दुई जना एसएसबीले तुइन काट्दा धामी महाकालीमा बेपत्ता भएको भन्दै उनीहरुलाई कारबाहीको माग गर्दै भारतको पांगलास्थित पुलिस थानामा जाहेरी दर्ता गराएको धामीका आफन्तले बताएका छन् ।
तुइन तरिरहेका बेलामा तुईन काटेर नदीमा खसाल्ने दुबै जना एसएसबी जवानहरुलाई कारबाहीको माग गर्दै आफूहरुले निबेदन दर्ता गराएको उनीहरुको भनाई छ । घट्ना घटिसकेपछि एसएसबीले डर, धम्की देखाई घट्नाबारे नबोल्न चेतावनीसमेत दिएको जाहेरीमा उल्लेख छ । घट्ना भएपछि एसएसबीका जवानहरु घटना स्थलबाट भागेका थिए । धामी नदी पार गर्नै लागेका बेला एसएसबीले तुइन काटिदिएको प्रत्यक्षदर्शीहरुले बताइरहेका छन् ।
तुइन खसेको विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पिथौरागढ जिल्लाधिकारीलाई पनि पत्र लेखेको थियो । त्यसको जवाफ फर्काउँदै भारतीय पक्षले तुइन काट्ने कार्यमा भारतीय एसएसबीको संलग्नता नरहेको दाबी गरेको छ । ब्याँसको घट्नाको अनुसन्धानका लागि गृह मन्त्रालयले गृह सचिवको नेतृत्वमा छानबीन समिति गठन गरेको छ । घटनाको अनुसन्धानका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली घटनास्थलमा खटिएको छ ।