धनगढी। सुुदुरपश्चिम प्रदेश सरकारले युवा लक्षित बजेट ल्याएपनी कार्यान्वयनमा जोड दिनुपर्ने सुदूरपश्चिम प्रदेश सभा सदस्य दुर्गा बिकले बताएकी छन् । प्रदेश सरकारले युवाहरुलाई लक्षित गरेर बजेट ल्याए पनि सहीरुपमा कार्यान्वयन हुन नसकेको र सबै युवालाई समेटेर आगामी दिनमा स्थानीय र प्रदेश सरकारले जानुपर्ने उनले जोड दिएकी हुन् । शुक्रबार सुदूरपश्चिमका युवाहरुलाई लक्षित गर्दै अनलाइन सेमिनार कार्यक्रममा बोल्दै बिकले सबै युवालाई समेटेर के कसरी आगामी दिनमा बजेट कार्यान्वयन गराउन सकिन्छ त्यसै अनुसार स्थानीय र प्रदेश सरकारले जानुपर्ने जानकारी दिएका हुन्।
यस्तै, नेपाल युवा संस्था सञ्जाल (आयोनल)को आयोजनामा भएको अनलाइन सेमिनार कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका उपमेयर रत्ना कडायतले नगरपालिकाले युवाहरुलाई समेटेर बजेट बनाएको बताइन् । उनले भनिन्,‘हामीले हाम्रो नगरपालिकामा युवाहरुलाई लक्षित गर्दै विभिन्न शीर्षकमा बजेट छुट्याएका छौँ र काम पनि गरेका छौँ ।’ उनले विभिन्न क्षेत्रमा युवा सहभागितामूलक कार्यक्रम ल्याएको पनि बताइन् । अझै पनि युवाहरुलाई कुनै महत्वपूर्ण कार्यक्रम छुटेमा डल्लो बजेटबाट पनि कार्यक्रम बनाउन सकिने उनले बताइन् । कार्यक्रममा बोल्दै प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले यूवाहरुलाई समेटेर निर्वाचन शिक्षाका लागि स्वयम्सेवक परिचालन गरिएको बताए ।युवा समाजका पथ प्रदर्शक रहेको बताउँदै उनले भने,‘उनीहरुलाई सही रुपमा पहिचालन गर्न सके समाज परिवर्तन हुन सक्छ ।’
कार्यक्रममा बोल्दै प्रदेश युवा परिषद्का कार्यकारी अध्यक्ष युवराज कुँवरले युवाका क्षेत्रमा सबै मिलेर काम गर्नुपर्ने बताए । उनले भने,‘युवाहरुका लागि के कस्तो सम्भावना छ त्यसको पहिचान गरेर त्यसलाई उजागर गर्न हामी युवा महोत्सवको सुरुवात गर्दैछौँ, त्यसबाट पनि युवाहरुले लाभ लिन सक्छन् ।’ उनले युवाहरुलाई नेतृत्वमा आउन समेत आग्रह गरे।‘युवाहरु नेतृत्वमा आएपछि समाज परिवर्तन हुन्छ,’ उनले भने,‘त्यसैले पनि युवाहरुलाई परिचालन गर्न जरुरी छ।’ कार्यक्रममा बोल्दै पत्रकार पुष्पराज जोशीले युवाहरुलाई स्थानिय तहले वर्षेनि एकै प्रकारका कार्यक्रम ल्याउँदा बजेट सकाउनै मात्र ध्याउन्न गरेको आभाष हुन थालेको बताए । उनले भने,‘अब स्थानीय तहले युवाहरुलाई लक्षित गरिएका कार्यक्रमले उनीहरुको क्षमता अभिवृद्धी गर्नुका साथै उनीहरुलाई आयआर्जनमा सहजता पुग्ने खालको बनाउनु पर्ने बताए। ‘युवाहरु लागू आषैधको सिकार भइरहेका छन्, त्यस्तो बेला स्थानीय तहले दुव्र्यसनी विरुद्धको कार्यक्रमहरु पनि युवा लक्षित गर्नुपर्ने हुन्छ,’ पत्रकार जोशीले भने,‘त्यसका लागि प्रदेश र स्थानीय सरकारले नयाँ नीति बनाएर दुव्र्यसनी विरुद्धको अभियान चलाउन जरुरी छ ।’