बैतडी। बैतडीमा मन्दिरको सुन खरिद गरेको आरोपमा थप २ जना व्यापारी पक्राउ परेका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका १ रीमस्थित लटिनाथ मन्दिरको सुन चोरी प्रकरणमा थप दुईजना व्यापारी पक्राउ परेका हुन्। मन्दिरबाट लुटिएको सुन खरीद गर्ने दुईजना सुनचाँदी व्यवासायीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। पक्राउ पर्नेमा चोरिको सुन खरिद गर्ने दशरथचन्द नगरपालिका -४ गढीका सुनचाँदी व्यवसायी ३३ वर्षीय कञ्चन पौडेल र सोही ठाउँका ४५ वर्षीय गणेशकुमार पौडेल रहेको प्रहरीले जनाएको छ।
गणेश नेपाल सुनचाँदी व्यवसायी संघ बैतडीका अध्यक्ष समेत रहेका बताइएको छ। प्रहरीले यसअघि चोरिको सुन खरिद गरेको आरोपमा दार्चुलाको शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह साहुलाई पक्राउ गरेको थियो। बैतडीको दोगडाकेदार गाउँपालिका १ रीमस्थित लटिनाथ मन्दिरबाट गत पौषमा ९ तोला सुन चोरी भएको थियो। प्रहरीले सुन चोरी गर्ने चार जनालाई पक्राउ गरिसकेको छ भने उनीहरुको साथबाट पौने चार तोला सुनसमेत बरामद गरेको छ।मन्दिरको सुन खरीद गर्ने व्यापारीहरुमाथि समेत अनुसन्धान भईरहेको जनाइएको छ ।

