धनगढी। धनगढी १९ मा फूलवारीमा फूलवारी बाल उद्यानको उद्घाटन गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा बालबालिकाकालाई मनोरञ्जन र पर्यटन प्रवद्र्धन गर्न धनगढीमा फूलवारी बाल उद्यान सञ्चालनमा ल्याइएको हो । उद्यानको एक समारोहकाबिच धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड र उपप्रमुख शुशिला मिश्र भट्टले रिवन काटेर समुदघाटन गरेका हुन । २ करोड ३८ लाख ११ हजार छ सय ७० लागतमा निर्माण भएको सो उद्यानको निर्माण कार्य २०७६ सालदेखि निर्माण कार्य थालिएको थियो ।
चारैतिर सुन्दर पर्खाल, वीच भागमा पानीको फोहरा, लाइटिङ, आरामका लागि प्याराफिट निर्माण लगायतका संरचना बनाइएको छ । आकर्षक फूलहरुका बोट रोपिएका छन भने फोहोरमैला व्यवस्थापनका लागि डस्टविन ‘फोहरमलाई’, ड्यासिङ कार, डुङ्गा, रोटेपिङ, चर्का, ब्रेक डान्सलगायत मनोरञ्जन लिन सकिने आधुनिक साधनहरु राख्न बाँकी रहेको छ । उपमहानगरपालिकाका नगर प्रमुख वडले भने –‘आवश्यक भौतिक संरचना निर्माण भइसकेको छ । बालबालिकालाई मनोरञ्जनका लागि चाहिने केही सामान राख्न बाँकी छ ।’नगर प्रमुख वडले नजिकै रहेको बसपार्कमा आउने यात्रुहरुलाई पनि आराम गर्नका लागि उद्यानले सहजता ल्याउने बताए ।
उपमहानगरपालिकाकी उपप्रमुख शुशिलाले धनगढी उपमहानरपालिकाका हरेक वडामा बालबालिकाका लागि मनोरञ्जनका लागि बाल उद्यान सञ्चालनमा ल्याउने योजना रहेको बताइन । उनले भनिन –‘बाल उद्यानलाई यस उपमहानगरपालिकाका पर्यटकिय स्थलसंग जोड्ने प्रयास रहेको छ ।’ उनका अनुसार बाल उद्यान, मनोरम पार्क, साइकल पथ र पर्यटकिय स्थलसम्म जोडी उपमहानगरपालिकाभित्र पर्यटकलाई आकर्षण गर्ने लक्ष्य रहेको छ । धनगढी उपमहानगरपालिकामा हालसम्म धनगढी उपमहानगरपालिका वडा नम्बर १, वडा नम्बर २ र वडा नम्बर १९ मा बाल उद्यान सञ्चालनमा रहेका छन ।

