धनगढी। कैलालीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा ४ जना घाइते भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका ३ गोरुङ्गेमा पूर्वबाट पश्चिमतर्फ आइरहेको से १ प ९५१६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट गइरहेको बा ६७ ब २२५६ नम्बरको मोटाइसकल एक आपसमा ठोक्किदा ४ जना घाइते भएको प्रहरीले बताएको छ।
दुर्घटनामा परी चालक कैलारी गाउँपालिका १ का अन्दाजी २६ वर्षीय प्रेम विकको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
यस्तै अर्का मोटरसाइकल चालक रौतहटका अन्दाजी २८ वर्षीय गौतम चौधरीको अवस्था गम्भीर रहेको र लालरत्न अस्पतालमा सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेज रेफर गरिएको बताइएको छ। विकको मोटरसाइकलमा सवार जानकी गाउँपालिका १ दुर्गौलीका २८ वर्षीय कृष्ण विक र ३० वर्षीय ग्रीष्म विक सामान्य घाइते भएका छन्। प्रहरीका अनुसार चौधरीको मोटरसाइकलमा सवार दाङको लमहीका २५ वर्षीय आशिष चौधरी र २८ वर्षीय दिवस चौधरी फरार रहेका छन्। दुर्घटनामा परेका दुवै मोटरसाइकललाई इलाका प्रहरी कार्यालय चिसापानीले नियन्त्रणमा लिएको छ।