काठमाण्डौ । सरकारले लामो दुरीका सार्वजनिक गाडीको भाडा दर बढाएको छ । यातातात व्यवस्था विभागले बुधवार सार्वजनिक गरेको सूचनाअनुसार लामो दुरीमा चल्ने गाडीमा २८ प्रतिशत भाडा बढाइएको छ । भाडा बढाउनका लागि केपी शर्मा ओली नेतृत्वको सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गएको आइतवार अर्थात् असार २७ गते नै विभागलाई सहमति दिएको थियो । विभागले हिजो मङ्गलवार २९ गतेदेखि नै नयाँ भाडा दर लागू भएको जनाएको छ । नयाँ भाडा दर अनुसार सार्वजनिक बसको भाडा २८ प्रतिशतले बढेको छ ।
यस्तै पहाडमा चल्ने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईमा चल्ने मालवाहक गाडीको भाडा २६ प्रतिशतले बढेको छ । बढेको भाडादर दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने लामो दुरीका गाडीमा लागू हुनेछ । प्रदेशभित्र चल्ने गाडीको भाडा प्रदेश सरकारले नै तोक्ने अधिकार पाएको छ । भाडा बढाउँदा इन्धनको मूल्य वृद्धिलाई ३५ र अन्य सूचकलाई ६५ प्रतिशत आधार मान्ने गरिएको छ । २०७५ सालको असोजमा बढाएयता भाडा समायोजन नगरिएको र यो बीचमा इन्धन तथा अन्य पाटपुर्जाको समेत मूल्य धेरै नै बढेकाले यस पटक गाडी भाडा पनि बढाइएको विभागका सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले जानकारी दिएका छन ।