अछाम । लगातारको वर्षाका कारण अछामका ग्रामीण सडक अवरुद्ध भएका छन् । सदरमुकाम सहित जिल्लाका १० वटै पालिका जोड्ने अधिकांश सडक अवरुद्ध भएका हुन् ।सडक अवरुद्ध भएपछि खाद्यान्न ढुवानी तथा यात्रु आवतजावत रोकिएको छ । बान्नीगढी गाउँपालिकाको जयगढ–रामारोशन, मंगलसेन पञ्चदेवल जोड्ने सडक, कमलबजार, ढकारी, तुर्माखाँद जोड्ने सडक अवरुद्ध भएका जिल्ला प्रशासन कार्यालय अछामले जानकारी दिएको छ । दुई दिनदेखि भएको वर्षापछि कतै पहिरो खसेर त कतै हिलोका कारण यातायात सञ्चालन नहुने अवस्थामा पुगेका हुन् ।
यातायात अवरुद्ध भएपछि स्थानीयलाई सास्ती भएको छ । असार मसान्त गर्नुपर्ने काम समेत सम्पन्न गर्न सास्ती भएको स्थानीयले बताएका छन् । वर्षा लागेपछि अछामका अधिकांश सडकहरू अवरुद्ध हुने गर्छन् । ठाउँ–ठाउँमा ट्र्याक नै नरहने गरी सडक भासिएको छ ।सडक माथिबाट खसेका पहिरोको थुप्रोले सडक वारपार गर्न सक्ने स्थिति छैन । जयगढ रामारोशन सडकमा सवारी साधनको त के कुरा पैदल यात्री हिँड्न नमिल्ने गरी सडक बिग्रिएको छ । क्षतविक्षत भएर सडक अवरुद्ध हुँदा ग्रामीण बस्ती यातायात सञ्जालबाट वञ्चित बन्नु परेको छ । बाढी पहिरोले रामारोशन गाउँपालिकामा सबैजसो सडक अवरुद्ध भएको उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभयो । जिल्लाका १० वटै पालिका बाढी पहिरोबाट प्रभावित छन् ।