धनगढी। धनगढीमा कालोपत्रे भएको सडक एक हप्तामै भत्किन थालेको छ। धनगढी उप–महानगरपालिकाको वडा नम्बर ५ शिखर टोलमा निर्माण भएको कालोपत्रे सडक एक हप्तामै भत्किन थालेको हो। सुदूरपश्चिम प्रदेशसभा सदस्य डिल्लीराज पन्तको प्रदेश पूर्वाधार विकास कार्यक्रमको ८ लाख बजेटबाट कालोपत्रे सम्पन्न भएको सडक भत्किन थालेको वडा कार्यालयले पनि स्वीकार गरेको छ। शिखर चोकमा कालोपत्रे गरिएको १४८ मिटर सडक अहिले भत्कन थालेको हो। यो आर्थिक बर्ष सकिन ३ दिन मात्रै बाँकी छ, जस कारण ११ महिनासम्म नभएका पुर्वाधार बिकासका काम धमाधम भैरहेका छन् ।
आर्थिक वर्षको अन्तम सम्पुर्ण भुक्तानी लिनैको लागि हतार हतारमा गुणस्तर र स्थायित्वको ख्यालै नगरी काम र बजेट सक्ने मेलो भैरहेको छ । यता धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष हिरा सिहं पातलीले कालोपत्रे गरेको सडक गुणस्तरहीन भएको भए फेरी पिच गर्न लगाईने बताए ।‘उपभोक्ता समिती मार्फत उक्त सडक कालोपत्रे गराईएको हो’, उनले भने,‘यदी सडक कालोपत्रे गुणस्तरहीन भएको हो भने फेरी गर्न लगाउछौँ ।’ उपभोक्ता समिती मार्फत कालोपत्रे गरिएको उक्त सडक गुणस्तरहीन भएको स्थानीयले आरोप लगाएका छन । घर अगाडीको सडक कालोपत्रे भयो भन्दै खुशी भएका उपभोक्ता एक हप्ता नपुग्दै निरास भएका छन ।