कञ्चनपुर। कञ्चनपुरमा अनलाइन कक्षाको नाममा त्यहाँका विद्यालयहरुले विद्यार्थीबाट शुल्क असुल्दै आईरहेको गुनासो बढेको छ । कोरोना रोकथामकालागि जिल्लामा शैक्षिक संस्थाहरु करिब तीन महिनादेखि बन्द रहेका छन् । तर यही समयमा यहाँका निजि विद्यालयले अनलाइन कक्षा भन्दै धमाधम शुल्क लिन थालेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–२ भासीका दिलीप धामीलाई आफ्ना बालबालिका पढ्ने विद्यालयबाट असार दोस्रो साता फोन आयो । अनलाइन कक्षा सुरु हुने भएकाले विद्यार्थी भर्नासँगै पुरानो शुल्कसमेत तिर्न भनियो । त्यसपछि उनी अनलाइन कक्षाको शुल्कबारे बुझ्न विद्यालयमै पुगे ।
भर्ना नगरी अनलाइन पढाउन नपाइने भनेपछि उनले पनि जेनतेन बालबालिकाहरूलाई भर्ना गरे । ‘म स्कुलमा पुग्दा त भर्ना गर्ने र अन्य शुल्क बुझाउनेको लामै लाइन थियो,’ धामीले भने, ‘अनलाइन कक्षा भन्दै धमाधम शुल्क लिन थालेका छन् ।’ उनले तीन बालबालिका भर्नाबापत ७ हजार रुपैयाँ बढी शुल्क तिरे । जेठ १५ सम्मको गत शैक्षिक सत्रको शुल्कसमेत अनिवार्य तिर्नुपर्ने भएको उनले बताए । धामीका ३ बालबालिका महेन्द्रनगरको इन्टरनेसनल स्कुलमा पढ्छन् । उनले भाइ मानसिंहका २ बालबालिकालाई पनि गत साता विद्यालय भर्ना गरे । ‘साना बालबालिकालाई त भर्ना मात्रै हो,’ उनले भने, ‘अनलाइन पढ्न सक्दैनन्, होमवर्क पनि सातामा एक पटक दिन्छन् ।’
कोरोना संक्रमणका कारण वैशाख १६ देखि निषेधाज्ञा लागू गरिएको छ । गत सातादेखि निषेधाज्ञा केही खुकुलो पारिए पनि निजी विद्यालयहरूले अनलाइन कक्षाका नाममा धमाधम भर्ना शुल्क लिन थालेका छन् । कतिपय विद्यालयले त भर्ना शुल्क लिएर अनलाइन पढाइ सुरु गरेका छैनन् । ग्रामीण भेगभन्दा बजार क्षेत्रका विद्यार्थीहरूले विभिन्न बहानामा शुल्क लिइरहेका छन् । ‘एउटै घरमा तीनरचार जना बालबालिका भए उनीहरूलाई छट्टाछुट्टै मोबाइल तथा कम्प्युटर कहाँबाट ल्याउनू रु,’ भीमदत्त नगरपालिका–१० का विष्णु भाटले भने, ‘यही बहानामा भर्ना र बन्द रहेका बेलाको शुल्क असुलिरहेका छन् ।’