धनगढी। तीन दिनदेखि बेपत्ता कैलालीको टीकापुरका बालक मृत अवस्थामा फेला परेका छन् । कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं ८ बाट दुई दिन अघि बेपत्ता नाबालक विवेक बिष्ट आज मृत अवस्थामा भेटिएका छन । उनको शव झण्डै ५ किलोमिटर तल टीकापुर नगरपालिका –४ बाघमारास्थित जमरा कुलोमा भेटिएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । उनका अनुसार नाबालक बिष्टको शव कुलोको पानीमा रहेको झाडीमा अड्किएको अवस्थामा फेला परेको हो ।
स्थानीय दिलिप बिष्टका नाबालक छोरा विवेक सोमवार बिहान ११ बजे घर नजिकैबाट बेपत्ता भएका थिए । उनी दिदी नाता पर्ने १५ वर्षीया पुनम बिष्टसँगै घर नजिकै जामुन खान गएका थिए । पुनमले प्रहरीसँगको बयानमा आफू विवेकलाई सडकमै छोडेर साथीको घरमा गएको र विवेक समेत उनका साथीको घरमा खेल्न गएको बताएकी थिईन । उनले विवेककी आमालाई समेत त्यसै भनेकी थिईन । प्रहरीले घटनाका बारेमा विस्तृत रुपमा अनुसन्धान भैरहेको जनाएको छ । डिएसपी सापकोटाले आफू घटनास्थलमै रहेको र घटनाका बारेमा अनुसन्धान भैरहेको जानकारी दिए । प्रहरीले बालकको खोजीका लागि कुकुर परिचाल गर्नुका साथै केही व्यक्तिलाई नियन्त्रणमा लिएर ‘पोलिग्राफ’ अनुसन्धान गरेको थियो ।