धनगढी। कैलालीमा भन्सार छलीका बिभिन्न सामानहरु बरामद गरिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली मातहत सिमा प्रहरी चौकी वहुलिया तथा तालुक सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समूह RIT बाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा भन्सार छलीका सामानहरु बरामद गरिएका हुन्। प्रहरी टोलीले गोप्य सूचनाको आधारमा धनगढी १८ फुलवारीबाट २ लाख १३ हजार ८ सय बराबरको भन्सार छलीका सामान बेवारिसे अवस्थामा फेला पारेको हो।
१ हजार १५० किलो चिनी, होम सलाई १६ पेटी, प्लाष्टिक पोलिथिन ४० किलो, सुपर पावर सुर्ती १३ कट्टा र स्वागत विडी ३ बोरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए। बेवारिसे अवस्थामा फेला पारिएका सामानहरूलाई आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।