धनगढी। कैलालीको कैलारी गाउँपालिकाले थारु समुदायमा प्रचलित भलमन्सा प्रथालाई कानूनी मान्यता दिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ देखि लागू हुने गरी भलमन्सा प्रथालाई कानूनी मान्यता दिएको हो ।
थारु समुदायमा सदियोदेखि प्रचलित सो प्रथालाई कानूनी रुपमा व्यवस्थापनका लागि गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले नीति तथा कार्यक्रममा उल्लेख गरेर गाउँ सभामा पेस गरे पछि सर्वसम्मतले पारित भएको छ।
९६ प्रतिशत थारु जातिको बसोबास रहेको सो गाउँपालिकाको हरेक गाउँ भलमन्सा प्रथाका आधारमा चलेको छ । गाउँपालिकाभरि करिब एक सयभन्दा बढी भलमन्साहरु रहेका जनाइएको छ ।ती भलमन्साहरुले गर्दै आएको काम, कतिपय निर्णयलाई अब गाउँपालिकाले पनि कानूनी मान्यता प्रदान गर्ने प्रवक्ता कमलप्रसाद चौधरीले बताए ।
यसैगरी, गाउँपालिकाले प्रचलित भलमन्सा प्रथाको जगेर्ना, कानूनी रुपमा व्यवस्थापनका साथै क्षमता अभिवृद्धि र भलमन्सालाई केही सेवा उपलब्ध गराउनेछ ।