डडेल्धुरा। डडेल्धुराकी अस्मिता धामीको मृत्यु भएको १३ दिन वितेको छ। डडेल्धुराको परशुराम नगरपालिका ८ स्थित आधारभूत स्वास्थ्य कार्यालय जम्रानीमा कार्यालय सहयोगीको रुपमा कार्यरत अस्मिता धामीको मृत्यु भएको १३ दिन वितेको छ। तर अहिलेसम्म घटनाको सत्यतथ्य कुरा सार्वजनिक हुन सकेको छैन। पोस्टमार्टम रिपोर्टअनुसार उनको हत्या गरिएको स्थानीयले भनेका छन्। तर कसरी र कसले हत्या गर्यो भन्नेबारेमा प्रहरीले अझै गतिलो प्रमाणे भेटाउन सकेको छैन।
भिसेरा परीक्षण भइरहेको र त्यसको रिपोर्ट आएपछि घटनाबारे तथ्य आउने प्रहरीले बताउँदै आएको छ। पोष्टमार्टमको रिपोर्ट आएपनि प्रहरीले अहिले नै हत्या हो भनेर प्रष्ट पारेको छैन।असार २ गते जमरानीबाट खोप पुर्याउन जोगबुडा हिँडेकी अस्मिता त्यही दिनदेखि बेपत्ता भएकी थिइन्। ५ गते कार्यालयबाट करिब १ घण्टको दुरीमा रहेको परशुराम नगरपालिका(९ स्थित हट्वानी सामुदायिक वनमा उनको शव भेटिएको थियो। ‘घटनाको प्रकृति हेर्दा हत्या भएको देखिन्छ,’ स्थानीय वैद्यनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजबहादुर बिष्टले भने ।घटनाका भएको १३ दिन सम्म पनि प्रहरीले दोषी क्राउ नगर्दा घटना ओझेलमा पर्ने हो कि भन्ने चिन्ता बढेको उनले सुनाए। अस्मिताको साथमा रहेको मोबाइल प्रहरीले शव भेटेको तीन दिनपछि मात्र फेला पारेको थियो। शव भेटिएको स्थानबाट करिब १०० मिटर तल प्रहरीले मोबाइल फेला पारेको थियो।
‘मोबाइल फुटाउन खोजेको अवस्थामा प्रहरीले ८ गते भेटाएको थियो । तर, त्यसको पछाडि एक हजार रुपैयाँ थियो, त्यो भेटेको छैन,’ वडाध्यक्ष गोविन्द बोहरा भने, ‘उनको खल्तीमा रहेको पैसा र कागज पनि गायब छ । घटना स्थलमा भेटिएको मोबाइल परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। ठोस प्रमाण नहुँदा हत्या भएको भन्न पनि प्रहरीलाई सकस छ। ‘शव भेटिएको हो हत्या हो वा होइन भन्ने कुरा अनुसन्धान पछि मात्रै थाहा हुन्छ’ जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र चन्दले भने ‘अहिले नै केहि भन्न सकिने अवस्था छैन।’मृत्युको कारण प्रस्ट पार्ने आधार अझै फेला नपरेको हुँदा उनले घटनाबारे अझै तथ्यगत रुपमा भन्न सकिने अवस्था नरहेको उनले बताए। ‘मृतकको शरीर वाट केहि कुरा संकलन भएको छ । घटना स्थलमा केहि कुराहरू बरामद भएको छ। ती सबैको अनुसन्धान पछि घटनाबारे थाहा हुन्छ,’ उनले भने।