धनगढी। टीकापुरका नगरपालिकाको कार्यालयमा लगाइएको तालाबन्दी खुलेको छ । टीकापुर नगरपालिका–१ वनगाउँका बासिन्दाले नगरपालिकाको कार्यालयमा लगाएको ताला खुलेको जनाइएको छ। उनीहरुले आफ्ना माग सहितको ज्ञापन पत्र मेयर रावललाई बुझाएपछि ताला खोलेका हुन्। ज्ञापन पत्र बुझदै मेयर रावलले प्रयाप्त छलफल गरेर मात्रै वडा विभाजनको विषयमा टुङ्गो लगाउने प्रतिवद्धता गरेपछि ताला खोलेको जनाइएको छ ।
वनगाउँका स्थानीयले नगरपालिकाको हालको वडा नम्बर १ लाई कम्तिमा ६ वटा वडा बनाईनुपर्ने माग अघि सारेर आज बिहान नगरपालिका कार्यालयमा तालाबन्दी गरेका थिए। वनगाउँमा थारु समुदायको बसोबास रहेको छ। उनीहरुले नगरपालिकाले आफूहरुलाई अल्पमतमा पार्ने षडयन्त्र अनुसार वडा विभाजनको काम अघि बढाएको आरोप लगाएका छन्। केही समय अघि टीकापुर नगरपालिका कार्यपालिकाको बैठकमा वडा विभाजनको विषयलाई लिएर तनाव सिर्जना भएको थियो।
आज बसेको कार्यपालिका बैठकमा मेयर तपेन्द्रबहादुर रावल र वडाध्यक्ष रामलाल डगौरा थारुबीच भनाभन भएपछि वडा विभाजनको विषयमा छलफल हुन सकेको थिएन् । कार्यपालिका बैठक भोलि बिहान ७ बजेसम्मका लागि स्थगित भएको छ। बैठकमा मेयर रावलले वडा विभाजनका विषयमा राजनीतिक दलहरुले दिएको सुझाव अनुसार अघि बढ्नुपर्ने धारणा राखेपछि वडाध्यक्ष थारुले त्यसको प्रतिवाद समेत गरेका थिए।