काठमाण्डौँ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोको सरुवा भएको छ । गृह मन्त्रालयले कञ्चनपुर सहित अन्य ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को हेरफेर गरेको हो । गृह मन्त्रालयले मंगलबार कञ्चनपुर, सर्लाही, धनकुटा, जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत ६ जिल्लाका सिडिओको सरुवा गरेको हो ।कञ्चनपुरका रामकुमार महतोको सरुवा सर्लाही भएको छ । उनको ठाँउमा गृह मन्त्रालयका सह सचिव राम प्रसाद पाण्डेलाई कञ्चनपुरको प्रजिअको जिम्मेवारी दिइएको छ।
धनकुटामा उपसचिव कृष्ण पन्तलाई कामु सिडिओमा सरुवा गरिएको छ । जुम्लामा उपसचिव विजया प्रसाई तथा पश्चिम रुकुममा केन्द्रीय कारागारका जेलर लक्ष्मी प्रसाद बाँस्कोटाको सरुवा भएको छ। त्यस्तै मुस्ताङमा श्रीनाथ पौडेलको सरुवा भएको छ। सर्लाहीका सिडिओ हेमराज तामाङ र धनकुटाका वासुदेव दाहालको गृह मन्त्रालयमा सरुवा भएको छ ।