धनगढी। कैलालीको टीकापुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । टीकापुर नगरपालिका–१ वनगाउँका बासिन्दाले आज बिहान नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन । उनीहरुले वडा विभाजनको विषयमा असहमति जनाउँदै तालाबन्दी गरेका हुन । स्थानीयले नगरपालिकाको हालको वडा नंम्बर १ लाई कम्तिमा ६ वटा वडा बनाईनुपर्ने माग अघि सारेका छन । नगरपालिकाले भने राजनीतिक दलको सहमति भन्दै वडा नं.१ लाई ५ वडामा विभाजन गर्ने तयारी थालेको छ ।वनगाउँमा थारु समुदायको बसोबास रहेको छ । उनीहरुले नगरपालिकाले आफूहरुलाई अल्पमतमा पार्ने षडयन्त्र अनुसार वडा विभाजनको काम अघि बढाएको आरोप लगाएका छन ।
स्थानीयले भने ‘हामी यस निर्णयको विरोधमा छौं,’ उनीहरुले भनेका छन्। स्थानीयले अन्य प्रस्तावित वडाहरुलाई जनसंख्या र भुगोलका आधारमा सुहाउँदो बनाए पनि आफूहरुको बसोबास रहेको वडालाई ठूलो बनाईएको गुनासो छ । नगरपालिकाको वडा नं १ जनसंख्याका हिसाबले नेपालको सबैभन्दा ठूलो मानिन्छ । यहाँ ५० हजार जनसंख्या रहेको छ । टीकापुर नगरपालिकामा हाल ९ वटा वडा छन । नगरपालिकाले वडा नं. १ लाई ५ र वडा नं. २ लाई २ वटा वडामा विभाजनको तयारी गरिरहेको छ ।


