दार्चुला। दार्चुलाका एक दर्जन बढी गोरेटो बाटो अवरुद्ध भएका छन । भारतले सीमावर्ती क्षेत्रमा बलमिच्याइँपूर्वक सडक बनाइरहेको छ । त्यही सडक निर्माण र एकसातासम्मको अविरल वर्षाका कारण अहिले दार्चुलादेखि व्याँस गाउँपालिकाको छांगरुसम्मको सम्पर्क टुटेको छ। व्याँस गाउँपालिकाको वडा नम्बर २ कल्जुदेखि वडा नम्बर १ को बुदीसम्म दर्जनबढि ठाउँमा पहिरो गएर गोरेटो बाटो अवरुद्ध बनेपछि सम्पर्क टुटेको हो।
यो क्षेत्रमा अहिलेकै अवस्थामा बाटो खुलाउन सकिने अवस्था छैन्। अधिकांश ठाउँमा भारतले निर्माण गरेको सडकका कारण पहिरो गएको छ भने केही ठाउँमा महाकालीमा नदीको बहाव बढेपछि बाटो अवरुद्ध भएको छ । महाकाली लोकमार्गअन्तर्गत दार्चुला तिंकर सडक खण्डको व्याँस गाउँपालिका वडा नम्बर २ मा पर्ने कोठेधारदेखि नेपाल–चीन सीमानाका टिंकरसम्मको ८७ किलोमिटर सडक नेपाली सेनाले बनाउने जिम्मेवारी पाएको छ।यहि क्षेत्रमा गत वर्ष सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा गोरेटो बाटो निर्माण तथा मर्मत सम्भार गरिएको थियो । भारतले चट्टान फोर्ने क्रममा आएको पहिरो तथा महाकाली नदीमा फालिएको ढुंगाका कारण अधिकांश क्षेत्रमा नेपालतिर पहिरो गएको छ।
वर्षाका कारण बुदीको तल, माल्पा, तम्बाकु, घागिबगर, कल्जु लगायतका ठाउँमा बढि अवरुद्ध भएको छ । सानातिना पहिरो र नेपालतिरको गोरेटो बाटो दर्जनौ बढि ठाउँमा अवरुद्ध भएको व्यास गाउँपालिका १ का वडाअध्यक्ष अशोकसिह बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, कयौं ठाउँमा गोरेटो बाटो सयौं मिटर बढि नदीले कटान गरेको छ । बाटोको नाम निसाना नै मेटिएको छ । पञ्चायतकालमै नेपालतिर बाटो निर्माण गरिएको थियो । महाकाली नदी किनारै किनार छांगरुसम्म गोरेटो बाटो बनेको थियो । नदीकिनारै किनार बाटो निर्माण गरिएको कारण भारतीय सडकबाट नदीमा ढुंगा थुप्रिएपछि नेपालतिरको भूगोल बढि कटान परेको हो ।