धनगढी। आज असार १५ धान दिवस।आज देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । यस वर्षको दिवसमा सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक कार्यक्रम नगरिने जनाइएको छ । कोरोना महामारी जारी रहेकाले सकेसम्म सरकारी फार्म भित्रै सीमित गरेर दिवस मनाइने तयारी गरिएको हो।यसैबीच असार १५ लाई दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भइ शक्ति सञ्चय हुने विश्वास गरिन्छ। दही चिउरा खाने बेला तथा आवजतजावत गर्दा मापदण्ड अनुसारको दूरी कायम गर्ने तथा सम्भव भएसम्म प्रविधि र मेसिनको प्रयोग गरेर दिवस मनाउन सरकारले आग्रह गरेको छ ।
खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाएर असार १५ मनाउँछन्। यस्तै,
सुदूरपश्चिम प्रदेशमा झण्डै ४६ प्रतिशत रोपाई सम्पन्न भैसकेको छ । प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको सुदुरपश्चिम कृषि निर्देशनालयका अनुसार प्रदेशभरी झण्डै ४६ प्रतिशत रोपाई सम्पन्न भएको सुदूरपश्चिम कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिएका छन् । उनले भने यस वर्ष नियमित वर्षा भएका कारण छिटो रोपाई सुरु भएको छ। सुदूरपश्चिम प्रदेशको ८६ हजार बढी हेक्टर क्षेत्रफलमा रोपाई भएको छ । समयमै मनसुन भित्रिएपछि असारको दोस्रो सातासम्म ८५ हजार ३ सय ६८ हेक्टर क्षेत्रफलमा रोपाई भएको हो ।
सुदुरपश्चिमको ९ जिल्लामा एक लाख ८५ हजार ८ सय ४७ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । ‘यसरी नै पानी परे धान उत्पादनमा समेत बृद्धि हुन्छ ।’ उनले भने । विक्रम संवत् २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। नेपालमा खेती हुने कूल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने विभागले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादनको क्षेत्रफल एक प्रतिशत र उत्पादनमा १ दशमलव ३ प्रतिशत प्रतिशतल वृद्धि भएको जनाइएको छ ।