धनगढी। कोरोना संक्रमण नियन्त्रणका लागि कञ्चनपुरमा निषेधाज्ञा खुकुलो पारेर २१ गतेसम्म पुनः लम्बिएको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार २१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। निषेधाज्ञा खुकुलो पार्दै असार १५ देखि २१ गते राति १२ बजेसम्म निरन्तरता दिइएको प्रजिअ महतोले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार निषेधाज्ञाको समयमा सार्वजनिक यातायातका सबै सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म जनस्वास्थ्य मापदण्ड पालनागरी सञ्चालन गर्न पाइने भएका छन्।जिल्लाबाहिरका लागि भने अत्यावश्यक सवारी साधन बाहेक अन्यले जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्नेछ। यस्तै अब अत्यावश्यक सामग्री प्रवाह गर्ने बाहेक सबै खाले पसलहरू प्रत्येक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुला गर्ने निर्णय गरिएको प्रजिअ महतोले जानकारी दिए।
उद्योग, कलकारखाना लगायत, सार्वजनिक तथा निजी निर्माण कार्य सञ्चालन गर्न पाइने छ।यस्तै सरकारी कार्यालय, सार्वजनिक निकाय, बैंक वित्तीय संस्थाहरू, गैरसरकारी संस्था स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर तथा आलोपालो गरी सञ्चालन गर्न सकिने छ। सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन्। विवाह ब्रतबन्धको हकमा स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १० जनासम्म मात्रै भेला हुन पाउँनेछन्।