दार्चुला। दार्चुलामा पौडी खेल्ने क्रममा ह्युम पाइपभित्र अड्किएर दुई बालकको मृत्यु भएको छ । महाकाली नगरपालिका ४ बंगाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्कीएर दुई जना बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा व्याँस गाउँपालिका ४ घर भई हाल खलंगा बस्दै आएका १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका ४ ब्रह्मदेव घर भई खलंगा आर्मी गेट नजिक बस्दै आएका १२ वर्षीय रमित कुवर रहेका प्रहरीले जनाएको छ ।
महाकाली लोकमार्ग, दार्चुला तिंकर सडक अन्तर्गत निर्माणाधीन लास्कुखोलाको मोटरवल पूलभित्र राखिएको ह्युम पाइपमा अड्कीएर दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिए। मंगलबार दिउँसो गर्मीको समयमा नदीमा पौडी खेल्ने क्रममा उनीहरु बगेर ह्युमपाइपभित्र अड्कीएको प्रहरीले जनाएको छ ।
निरन्तर वर्षाका कारण निर्माणाधीन पूलभित्र ह्युम पाइप राखेर नदी खुलाइएको थियो । पूललाई क्षति नगरोस् भन्ने होम पाइप राख्न लगाइएको भए पनि पौडी खेल्ने बेला दुवै बालक अड्कीएका हुन् । ह्युमपाइप भित्र अड्कीएर मृत्यु भएका बालकलाई जेसीभी लगेर निकालिएको थियो ।