धनगढी। कैलालीमा मंगलबार देखि लागु हुने निषेधाज्ञाको समयमा ९ घण्टा पसल खोल्न पाईने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले मंगलबार देखि असार १५ गते सम्म थप गरेको निषेधाज्ञाको समयमा खाद्य, निर्माण सामग्री, हार्डवेयर, ईलेक्ट्रोनिक्स, भाडा वर्तन, पुस्तक, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक , गिफ्ट, भान्साजन्य, खेलकुद, टेलरिङ्ग पसलहरु बिहान ६ बजे देखि अपरान्ह ३ बजे सम्म संचालन गर्न सकिने जनाईएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजारद्धारा जारी आदेशमा होटल, रेष्टुरेष्ट, खाजा तथा चिया पसलहरु भने पूर्ण रुपमा बन्द गरिने उल्लेख छ । तर, स्वास्थ्य मापदण्ड पालना गरी बिहान ८ बजे देखि बेलुकी ८ बजे सम्म होम डेलिभरी सेवा भने संचालन गर्न सकिने छ । यसैबिच थपिएको लकडाउन अवधिमा निजी सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्न सकिने उल्लेख छ ।
निजी सवारी साधन संचालन गर्दा कार, जीप, भ्यानमा चालक सहित ४ जना, ट्याक्सीमा ३ जना, अटोमा ३ जना सवार हुन सक्ने जनाईएको छ । यस्तै मोटरसाईकल र स्कुटी समेत जोर बिजोर प्रणालीमा संचालन गर्न आदेशमा भनिएको छ । अन्य व्यवस्था भने यस अघि जारी गरिएको निषेधाज्ञा अनुरुप हुने जनाईएको छ ।