धनगढी: कैलालीमा पछिल्लो समय परेको वर्षाका कारण धानबालीमा क्षति पुगेको छ। मंगलबार राति र बिहीबार बिहान परेको वर्षाले खेतमा काटेर सुकाउन राखिएको धानमा क्षति पुगेको हो। धान पाकेर भित्र्याउने तयारीमा रहेका किसानलाई वर्षाले समस्या थपेको छ। खेतमा काटेर सुकाउन राखेको धान भिज्दा गुणस्तरमा समेत असर पर्ने भन्दै किसान चिन्तित भएका छन्।
कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत टेक बिष्टका अनुसार जिल्लामा हालसम्म करिब ५ प्रतिशत धानबालीमा क्षति पुगेको प्रारम्भिक अनुमान छ। यद्यपि वर्षाका कारण धानको उत्पादन र उत्पादकत्वमा ठूलो असर पर्ने अवस्था नरहेको उहाँले बताउनुभयो।
कैलालीमा करिब ४० प्रतिशत धान काट्ने बेला भएको छ। तर, अझै मनसुन सक्रिय रहेकाले किसानलाई तत्काल धान नकाट्न कृषि ज्ञान केन्द्रले आग्रह गरेको छ। मनसुन पूर्ण रूपमा सकिएपछि मात्रै धान काटेर भित्र्याउन किसानलाई सुझाव दिइएको छ। पाकिसकेको धान खेतमै राख्दा वर्षाले क्षति पु¥याउन सक्ने भएकाले किसानले मौसमको अवस्था हेरेर धान भित्र्याउने तयारी गर्नुपर्ने कृषि ज्ञान केन्द्रले जनाएको छ।


