धनगढी । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, सुदूरपश्चिम प्रदेशले कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्ण रूपमा समावेशी, पहुँचयुक्त तथा अपाङ्गतामैत्री विश्वविद्यालयका रूपमा विकास गर्न १३ बुँदे सुझाव पेश गरेको छ।
महासंघले विश्वविद्यालयका उपकुलपति सुनिल कुमार जोशी समक्ष सुझावपत्र बुझाउँदै विश्वविद्यालयको भौतिक संरचनादेखि शैक्षिक तथा स्वास्थ्य सेवा, प्रशासनिक प्रणाली, सूचना तथा सञ्चार प्रविधि, मानव संसाधन र व्यवस्थापकीय अभ्याससम्मलाई सुरुदेखि नै समावेशी र पहुँचयुक्त बनाउनुपर्नेमा जोड दिएको हो।
महासंघका अनुसार विश्वविद्यालय नयाँ संरचना तथा प्रणाली विकासको चरणमा रहेकाले भविष्यमा संरचनात्मक तथा व्यवस्थापकीय अवरोध सिर्जना हुन नदिन Universal Design, Reasonable Accommodation, Accessibility र Inclusive Governance का सिद्धान्तलाई संस्थागत रूपमा अवलम्बन गर्न आवश्यक छ।
सुझावपत्रमा विश्वविद्यालयका सम्पूर्ण भौतिक संरचना अपाङ्गता भएका व्यक्तिका लागि सुरक्षित, सहज र पहुँचयुक्त बनाउनुपर्ने उल्लेख छ। भवनका प्रवेशद्वारमा उपयुक्त र्याम्प, व्हीलचियरको सहज आवतजावत, आवश्यक स्थानमा लिफ्ट, दृष्टिविहीन व्यक्तिका लागि ट्याक्टाइल पथ तथा ब्रेल संकेत, पहुँचयुक्त शौचालय, प्राथमिकतायुक्त पार्किङ र पहुँचयुक्त आपत्कालीन निकासको व्यवस्था गर्न महासंघले सुझाव दिएको छ। छात्रावास, क्यान्टिन, सभाहल, खेलकुद तथा मनोरञ्जन क्षेत्रसमेत पहुँचयुक्त बनाउनुपर्ने सुझावमा उल्लेख छ।
त्यस्तै, विश्वविद्यालय परिसरभित्र मुख्य गेटदेखि प्रमुख भवनसम्म पहुँचयुक्त मार्ग, अवरोधमुक्त पैदलमार्ग, पर्याप्त प्रकाश, पानी तथा सार्वजनिक सेवा केन्द्रमा पहुँच र विश्वविद्यालयभित्र सञ्चालन हुने यातायात सेवासमेत पहुँचयुक्त बनाउनुपर्ने महासंघको सुझाव छ।
स्वास्थ्य विज्ञान विश्वविद्यालय भएकाले यहाँका स्वास्थ्य सेवा तथा सेवा केन्द्रहरू स्वयं उदाहरणीय रूपमा अपाङ्गतामैत्री हुनुपर्ने महासंघले जनाएको छ। ओपीडी, आकस्मिक सेवा, प्रयोगशाला, फार्मेसी तथा स्वास्थ्य परीक्षणमा सहज पहुँचका साथै अपाङ्गता भएका सेवाग्राहीलाई आवश्यक सहयोग, सांकेतिक भाषा दोभाषे, Communication Support तथा ब्रेल, श्रव्य र पहुँचयुक्त डिजिटल सूचना उपलब्ध गराउन सुझाव दिइएको छ।
महासंघले विश्वविद्यालयको वेबसाइट, मोबाइल एप, डिजिटल पोर्टल तथा अन्य सूचना प्रणालीलाई Web Accessibility का मान्यताअनुसार विकास गर्नुपर्नेमा पनि जोड दिएको छ। Screen Reader अनुकूल डिजिटल प्रणाली, भिडियो तथा सार्वजनिक सूचनामा Caption र आवश्यकताअनुसार सांकेतिक भाषा, ब्रेल, ठूलो अक्षर, अडियो तथा पहुँचयुक्त डिजिटल सामग्री उपलब्ध गराउन सुझाव दिइएको छ।
शैक्षिक प्रणालीलाई समावेशी बनाउन भर्नादेखि परीक्षा र प्रमाणपत्र प्राप्तिसम्म पहुँचयुक्त व्यवस्था, आवश्यकताअनुसार Reasonable Accommodation, परीक्षामा अतिरिक्त समय, सहायक लेखक वा प्रविधिको प्रयोग, प्रयोगशाला तथा व्यावहारिक शिक्षामा पहुँच र पहुँचयुक्त पाठ्यसामग्रीको व्यवस्था गर्न महासंघले माग गरेको छ। साथै शिक्षक तथा कर्मचारीलाई अपाङ्गता समावेशी शिक्षा र व्यवहारसम्बन्धी अभिमुखीकरण दिनुपर्ने सुझाव पनि दिइएको छ।
प्रशासनिक तथा व्यवस्थापकीय क्षेत्रमा Disability Inclusion Focal Person/Desk स्थापना गर्न, नीति, योजना र बजेट निर्माणमा अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गर्न तथा विश्वविद्यालयका विभिन्न समिति र निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्ति वा अधिकारका प्रतिनिधिलाई उचित सहभागिता गराउन महासंघले सुझाव दिएको छ।
त्यसैगरी, अपाङ्गता भएका व्यक्तिलाई रोजगारी तथा अवसरमा समान पहुँच, प्रचलित कानुनअनुसार आरक्षण तथा समावेशी प्रतिनिधित्वको प्रभावकारी कार्यान्वयन र पहुँचयुक्त कार्यस्थल तथा उचित समायोजनको व्यवस्था गर्नुपर्ने उल्लेख छ। विश्वविद्यालयको वार्षिक नीति, कार्यक्रम तथा बजेटमा पहुँचयुक्त पूर्वाधार, सहायक सामग्री, सांकेतिक भाषा तथा सञ्चार सहयोग, पहुँचयुक्त सूचना प्रविधि, समावेशी शिक्षा र क्षमता विकासलाई प्राथमिकता दिन पनि सुझाव दिइएको छ।
महासंघले विश्वविद्यालयमा Disability-Inclusive Disaster Risk Reduction (DIDRR) योजना बनाउन, पहुँचयुक्त आपत्कालीन निकास तथा उद्धार प्रणाली विकास गर्न र अपाङ्गता भएका व्यक्तिको आवश्यकता समेटिएको आपत्कालीन कार्यविधि निर्माण गरी नियमित रूपमा समावेशी आपत्कालीन अभ्यास सञ्चालन गर्नुपर्ने जनाएको छ।
सुझावपत्रमा ‘Nothing About Us Without Us’ को सिद्धान्तअनुसार विश्वविद्यालयले अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका प्रतिनिधिमूलक संस्थासँग नियमित परामर्श र सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ। विश्वविद्यालय परिसर, भवन, सेवा केन्द्र, सूचना प्रणाली तथा प्रशासनिक प्रक्रियाको Accessibility Audit गरी पहिचान भएका अवरोधलाई चरणबद्ध रूपमा सुधार गर्नसमेत सुझाव दिइएको छ।
महासंघले दीर्घकालीन रूपमा ‘Disability Inclusion and Accessibility Policy’ निर्माण गरी कार्यान्वयनमा ल्याउन र विश्वविद्यालय तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संयुक्त सहभागितामा ‘अपाङ्गता समावेशी तथा पहुँचयुक्त विश्वविद्यालय निर्माण कार्यदल’ गठन गर्न प्रस्ताव गरेको छ।
महासंघका प्रदेश अध्यक्ष नन्दराज भट्टद्वारा हस्ताक्षरित सुझावपत्र पेश गर्न उपाध्यक्ष निर्मला बिष्ट , प्रबक्ता रुपारानी राई, प्रदेश समन्वय बिभाग प्रमुख खडकराज भट्ट र सह सचीव राम प्रसाद जोशी लगायतको सहभागीतामा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सुदूरपश्चिममा मात्र नभई नेपालमै समावेशी, पहुँचयुक्त, अपाङ्गतामैत्री तथा Universal Design मा आधारित स्वास्थ्य विज्ञान विश्वविद्यालयको नमुना संस्थाका रूपमा विकास गर्न आग्रह गरिएको छ।
महासंघले सुझावपत्रमा उल्लेखित विषयलाई विश्वविद्यालयको नीति, योजना, बजेट, संरचना तथा सेवा प्रवाहमा समावेश गरी कार्यान्वयनका लागि आवश्यक पहल गर्न आग्रह गर्दै थप छलफल तथा प्राविधिक सहजीकरणका लागि सहकार्य गर्न आफूहरू तयार रहेको जनाएको छ।
सुझाव पत्र ग्रहण गर्दै उपकुलपति सुनिल कुमार जोशी र रजिस्ट्रार भिम बहादुर चन्दले आफुहरुले अपाङ्गताको संबेदनशिलतालाई राम्ररी बुझेको र त्यसलाई नितिगत , योजनागत,प्रशासनिक र संरचनात्मक ढंगले सम्बोधन गर्न प्रतिबद्ध रहेको जनाउनु भएको छ।

