धनगढी: असोज ९ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न जिल्लामा बाढी, डुबान र पहिरोको जोखिम बढे पनि ठूलो जनधनको क्षति हुनबाट जोगिएको छ । मौसम पूर्वानुमान तथा जल तथा मौसम विज्ञानसम्बन्धी निकायले जारी गरेका पूर्वसूचना नागरिकसम्म समयमै पुगेपछि सम्भावित जोखिम न्यूनीकरण गर्न सहयोग पुगेको हो ।
तीन दिनसम्म लगातार परेको वर्षाले कैलालीसहित प्रदेशका तराईका जिल्लामा डुबानको जोखिम बढाएको थियो भने पहाडी जिल्लामा बाढी र पहिरोको सम्भावना बढेको थियो । वर्षाका कारण कतिपय सडक तथा राजमार्गसमेत अवरुद्ध भए । नदी तथा खोलामा पानीको बहाव बढेपछि तटीय क्षेत्रमा जोखिम बढेको थियो ।
तर, वर्षा सुरु हुनुअघि नै मौसमको अवस्थाबारे सार्वजनिक गरिएको सूचनाका कारण नागरिकले आवश्यक सावधानी अपनाएका थिए । जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकले सतर्कता अपनाउनुका साथै आवतजावतमा समेत सावधानी अपनाएका थिए । स्थानीय तह, सुरक्षा निकाय र सञ्चारमाध्यमले समेत वर्षाको सम्भावित जोखिमबारे निरन्तर जानकारी गराएका थिए ।
असोज ९ गतेदेखि सुरु भएको अविरल वर्षा रोकिएसँगै कैलालीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा पनि मौसम क्रमशः खुल्न थालेको छ । लगातारको वर्षाले जनजीवन प्रभावित भए पनि समयमै पूर्वसूचना जारी हुनु र नागरिकले त्यसअनुसार सावधानी अपनाउनुले ठूलो मानवीय क्षति हुनबाट जोगाउन सहयोग पुगेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख सञ्जयकुमार शाहले बताए ।
उनका अनुसार वर्षाको सम्भावना, यसको तीव्रता र जोखिमबारे समयमै सूचना प्रवाह हुँदा सम्बन्धित निकाय तथा नागरिकलाई आवश्यक तयारी गर्न सहज भएको हो । बाढी, डुबान र पहिरोको जोखिम रहेका क्षेत्रमा पूर्वसावधानी अपनाउन सकिएकाले सम्भावित क्षति कम गर्न सहयोग पुगेको उनको भनाइ छ । वर्षाका कारण केही स्थानमा डुबान तथा पहिरोको समस्या देखिए पनि ठूलो मानवीय क्षति भने हुन पाएन । जोखिम बढेका बेला स्थानीय तह र सुरक्षा निकायले समेत नागरिकलाई सचेत गराएका थिए । यसले जोखिमयुक्त क्षेत्रका नागरिकलाई समयमै सतर्क हुन सहयोग पुगेको हो ।
वर्षाको पूर्वसूचनाको प्रभाव कृषि क्षेत्रमा समेत देखिएको छ । धान काट्ने समय नजिकिँदै गर्दा परेको अविरल वर्षाका कारण किसानहरूलाई पाक्न लागेको धानबालीमा क्षति पुग्ने चिन्ता थियो । तर, मौसमको पूर्वसूचना पाएपछि धेरै किसानले तत्काल धान नकाटी वर्षा रोकिएपछि मात्रै काट्ने निर्णय गरेका छन् । धनगढी उपमहानगरपालिका–१७ उर्माका किसान ठग्गु रानाले वर्षाको पूर्वसूचना पाएपछि धान काट्ने काम रोकेको बताए । खेतमा धान पाक्न लागेकाले काट्ने तयारी गरे पनि लगातार वर्षाको सम्भावनाबारे जानकारी पाएपछि आफूहरूले केही दिन धान नकाटेको उनको भनाइ छ ।
वर्षाका कारण कतिपय स्थानमा हावाहुरीसमेत चलेपछि धानबालीमा आंशिक असर परेको छ । केही धान ढले पनि पूर्वसूचनाका कारण समयमै तयारी गर्न सकेकाले ठूलो क्षति हुनबाट जोगिएको किसानहरूको भनाइ छ । धनगढी उपमहानगरपालिका–७ मनेहराका किसान रामबहादुर चौधरीले पनि मौसमको जानकारी पाएपछि धान काट्ने काम केही दिनका लागि पछि सारेको बताए । उनका अनुसार वर्षा र हावाहुरीले केही असर गरे पनि पूर्वसूचनाका कारण ठूलो जोखिमबाट बच्न सकिएको हो ।
विपद्को समयमा क्षति न्यूनीकरणका लागि पूर्वसूचनाको भूमिका महत्वपूर्ण मानिन्छ । मौसम तथा बाढीको जोखिमबारे समयमै सूचना प्राप्त हुँदा नागरिकलाई सुरक्षित स्थानमा जान, आवतजावतमा सावधानी अपनाउन तथा कृषि उपजको सुरक्षा गर्नसमेत सहज हुन्छ । सुदूरपश्चिममा यसपटक पनि अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी, डुबान र पहिरोको समस्या देखिए पनि पूर्वसूचना, स्थानीय तहको सक्रियता, सुरक्षा निकायको तयारी र नागरिकको सावधानीले सम्भावित ठूलो क्षति रोक्न सहयोग पुगेको देखिएको छ । तीन दिनसम्म परेको लगातारको वर्षाले सुदूरपश्चिममा विपद्को जोखिम बढाए पनि समयमै प्राप्त पूर्वसूचना नागरिकका लागि सुरक्षा कवच बनेको देखिएको छ । मौसमको सूचना नागरिकसम्म पुर्याउने प्रणाली प्रभावकारी हुँदा मानवीय क्षतिसँगै कृषि क्षेत्रमा हुने सम्भावित क्षति समेत कम गर्न सकिएको छ । यसले विपद् व्यवस्थापनमा विपद् आएपछि उद्धारभन्दा विपद् आउनुअघि गरिने तयारी र प्रभावकारी पूर्वसूचना प्रणाली अझ महत्वपूर्ण हुने सन्देश दिएको छ ।

