डडेल्धुरा: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको वडा गन्यापधुरा– १, डडेल्धुरामा पनि वडा अधिवेशन सुरु भएको छ । सो अधिवेशनमा देउवापक्षका नेता कार्यकर्ताको भने सहभागिता छैन ।
वडा अधिवेशनमा सहभागी भई अमरगढी नगरपालिका– ९ बाट क्षेत्रीय प्रतिनिधि चयन भएका युवानेता भुवन भट्टका अनुसार डडेल्धुराका सबै वडामा अधिवेशन सुरु भएको छ । ‘उहाँको गन्यापधुरा– १ मा पनि वडा अधिवेशन भइरहेको छ । केही बेरमा कार्यसमिति टुंगो लाग्छ,’ उनले भने ।
देउवाको गृहजिल्ला डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउँदले ३ असोजमा विज्ञप्ति निकालेर वडा अधिवेशनमा सहभागी हुन अपिल गरेका थिए ।
त्यस्तै, जिल्ला उपसभापति डिल्लीराज जोशीले ३ असोजमा विज्ञप्ति निकालेर वडा अधिवेशन तत्काल रोकेर वार्ता गर्नुपर्ने उल्लेख गरेका थिए ।
पूर्वसभापति कर्णबहादुर मल्लले पनि विज्ञप्ति निकालेर वडा अधिवेशनमा सहभागी नहुने उल्लेख गरेका थिए । देउवा समूहले पूर्वमहामन्त्री शशांक कोइरालाको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाएर काम गरिरहेको छ । उनीहरूले १५ असोजबाट वडा अधिवेशन सुरु गर्दै छन् ।

