कैलाली । सुदूरपश्चिम प्रदेशमा तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख नजिर मियाँले तीन मन्त्रीलाई र मुख्यमन्त्री खगराज भट्टले दुई राज्यमन्त्रीलाई शपथ गराएका हुन् ।
मुख्यमन्त्री भट्टले आजै नेकपाबाट प्रकाश रावल, ओमविक्रम भाट र खुसीराम डगौरा थारूलाई मन्त्री तथा जानकी कुँवर र इन्दिरा गिरीलाई राज्यमन्त्री नियुक्त गरेका थिए ।
रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भाटलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र डगौरा थारूलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, कुँवरलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री र गिरीलाई वन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । गत २९ गते मुख्यमन्त्री नियुक्त भएका भट्टले यसअघि नेकपा एमालेका तर्फबाट चक्र मल्ललाई आर्थिक मामिला मन्त्री, सन्तोषी थापा शर्मालाई सामाजिक विकास मन्त्री र दमन भण्डारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिसकेका छन्।
एमालेकै तर्फबाट जानकी बम ऐर आर्थिक मामिला राज्यमन्त्री नियुक्त भइसकेकी छन् । आज पाँच जना नयाँ मन्त्री तथा राज्यमन्त्रीले शपथ लिएसँगै सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

