धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टसहित मन्त्रीहरू यतिबेला बधाई तथा शुभकामना थाप्नमै व्यस्त देखिएका छन्। साउन २९ गते नियुक्त भएर पदभार ग्रहण गरेका मुख्यमन्त्री भट्ट, सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापा, आर्थिक मामिला मन्त्री चक्र मल्ल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दमन भण्डारी र राज्यमन्त्री जानकी ऐर बमका तस्बिरहरू यतिबेला खादा र मालाले सजिएको देखिन्छ।
प्रदेश बजेट शून्यताको अवस्थामा गुज्रिरहेका बेला सरकारले तत्काल बजेट निर्माण र प्रदेशका समस्या समाधानमा केन्द्रित हुनुपर्ने भए पनि मन्त्रीहरू बधाई तथा शुभकामना ग्रहण गर्न र विभिन्न कार्यक्रम उद्घाटनमा व्यस्त भएको भन्दै आलोचना हुन थालेको छ। मुख्यमन्त्री खगराज भट्टले आफूलाई खादा र माला नलगाउन आग्रह गर्ने घोषणा गरे पनि उनीसहित मन्त्रीहरूलाई बधाई थाप्न भ्याई नभ्याई भएको देखिन्छ।
सत्तारुढ दलकै एक सांसदले अहिले मुख्यमन्त्री र मन्त्रीहरू गम्भीर छलफलमा केन्द्रित हुनुपर्ने बताए। उनका अनुसार मन्त्रीहरूले विभिन्न क्षेत्रका विज्ञसँग छलफल गरी प्रदेशको वर्तमान समस्या समाधान गर्ने गरी बजेट निर्माणमा जुट्नुपर्ने समय हो। ‘अहिले मन्त्रीज्यूहरू गहन छलफलमा हुनुपर्ने हो। कोही खादा र माला लगाउनमा व्यस्त छन्, कोही कार्यक्रम उद्घाटनमा दौडिरहेका छन्,’ ती सांसदले भने।
उनले विगतको बजेट असफल हुनुको औचित्य पुष्टि गर्न पनि नयाँ सरकारले फरक ढंगले काम गर्नुपर्ने बताए। उपलब्धीविहीन भेटघाट, बधाई तथा शुभकामना ग्रहण र कार्यक्रम उद्घाटनमा समय खर्चिनुभन्दा जनपक्षीय बजेट निर्माणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। प्रदेशमा बजेट शून्यताको अवस्था कायमै रहेकाले सरकारको प्राथमिकता बधाई थाप्नेभन्दा बजेट निर्माण, सेवा प्रवाह सुधार र विकास निर्माणका कामलाई गति दिनेतर्फ हुनुपर्ने देखिएको छ।

