धनगढी: साँझ पर्नै लाग्दा कैलालीको घोडाघोडी नगरपालिका –१ स्थित सुखड बजार चोकमा थारु समुदायका महिला, पुरुष, बालबालिका र युवायुवतीको भीड बढेको छ ।
परम्परागत पहिरनमा सजिएका उनीहरूको हातमा चना, चामल र मकैका भुजा, विभिन्न परिकार र कपडाबाट बनाइएका गुरहन्या छ । केही समयपछि चोकमा हर्षोल्लासका साथ सुरु भयो गुरही असरैना कार्यक्रम ।
पश्चिम नेपालका थारु समुदायले हरेक वर्ष नागपञ्चमीका दिन मनाउने गुरही पर्व पछिल्लो वर्षहरूमा थप व्यवस्थित र भव्य बन्दै गएको छ । गाउँघरबाट रोगव्याधी हट्ने, शान्ति र सद्भाव बढ्ने तथा समाजमा सकारात्मक ऊर्जा फैलिने विश्वासका साथ यो पर्व मनाउने परम्परा रहिआएको छ ।
पहिले गाउँका टोल र चौराहामा सीमित रहेको यो पर्व अहिले औपचारिक कार्यक्रमको रूपमा मनाउन थालिएको छ ।

