दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका-९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ। काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र शैल्यशिखर नगरपालिकाका प्रमुख विजय सिंह धामीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।
भारत सरकारको करिब ७ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोगमा यो भवन निर्माण हुन लागेको हो। उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुन लागेको यो भवनको कार्यान्वयन शैल्यशिखर नगरपालिकामार्फत हुनेछ। दार्चुला जिल्लामा भारत सरकारको सहयोगमा सञ्चालन भइरहेको यो ११ औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।
कार्यक्रममा शैल्यशिखर नगरपालिकाका प्रमुख तथा अन्य सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगको प्रशंसा गरे। नयाँ पूर्वाधारले विद्यार्थी र शिक्षकहरूका लागि सिकाइको वातावरण सुधार गर्न मद्दत पुर्याउने विश्वास उनीहरूले व्यक्त गरेका छन्।

