धनगढी: धनगढी उपमहानगरपालिकाले थारू समुदायको परम्परागत ‘भलमन्सा’ प्रथाको संरक्षण, संवर्द्धन तथा विकासका लागि कानुनी व्यवस्था गरेको छ। उपमहानगरपालिकाले ‘थारू समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ तथा रानाथारू समुदायको पधना र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८३ आइतबार नगर सभाबाट स्वीकृत गरेको छ। १५ औं नगरसभामा पेश गरिएको विधेयक सर्वसम्मत स्वीकृत भएको हो।
विधेयकको प्रस्तावनामा कैलाली जिल्लास्थित धनगढी उपमहानगरपालिका क्षेत्रमा आदिवासी जनजाति राना थारू र थारू समुदायको सघन बसोबास रहेको उल्लेख गर्दै भलमन्सा प्रथा समुदायमा परम्परादेखि प्रचलित सामाजिक संस्था रहेको जनाइएको छ। उक्त प्रथाले सामुदायिक संगठन, सामाजिक सद्भाव, न्याय सम्पादन, विकास निर्माण, सांस्कृतिक संरक्षण तथा समाज सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको विधेयकमा उल्लेख गरिएको छ।
विधेयकमा भलमन्सा प्रथाको अभिलेखीकरण, संरक्षण, संवर्द्धन र विकास गर्दै यसको अभ्यासलाई स्थानीय शासन प्रणालीसँग समन्वयात्मक रूपमा सञ्चालन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। साथै नेपालको संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिको सांस्कृतिक अधिकार, परम्परागत ज्ञान, सिप, अभ्यास तथा संस्थागत संरचनाको संरक्षण र प्रवर्द्धन गर्ने राज्यको दायित्व कार्यान्वयन गर्न यो विधेयक आवश्यक रहेको उल्लेख छ।
यसैगरी नेपाल पक्ष रहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) महासन्धि नम्बर १६९, आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र, २००७ तथा प्रचलित राष्ट्रिय कानुनले प्रत्याभूत गरेका आदिवासी समुदायका अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन गर्नुपर्ने दायित्वलाई समेत विधेयकले आधार बनाएको छ।
नेपालको संविधानको धारा २२६ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) बमोजिमको अधिकार प्रयोग गरी तयार गरिएको उक्त विधेयक धनगढी उपमहानगरपालिकाको १५औँ नगरसभामा पेश भई सोमबार नै पारित भएको जनाइएको छ।


