धनगढी: बाजुराको हिमाली गाउँपालिका वडा नम्बर–३ स्थित लाम्पाटामा सशस्त्रको बन्दोबस्तीको सामान हेलिकोप्टरबाट पठाइएको छ । सुर्खेतबाट श्री एयरलाइन्सको हेलिकोप्टरबाट बन्दोबस्तीको सामान लाम्पाटा लगिएको सशस्त्र प्रहरीका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए। बाजुरा र हुम्लाको सीमा विवाद नटुङ्गिएसम्म सो क्षेत्रमा केन्द्रीय संयुक्त सुरक्षा बेस राख्ने निर्णय सँगै लाम्पाटामा बेस स्थापना गरिएको छ। केन्द्रीय सुरक्षा समितिको निर्णय अनुसार सशस्त्रका इन्स्पेक्टर नेतृत्वको टिम त्यहाँ परिचालन गरिएको छ। नेपाल प्रहरीको टिम पनि लाम्पाटामा परिचालन गरिएको छ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले पठाएको बन्दोबस्तीको सामान बुधबार पुगेको हो। बुधबार सशस्त्रको नम्बर–७ बैद्यनाथ बाहिनीका बाहिनीपति डीआईजी दिगबिजय सुवेदी पनि लाम्पाटा पुगेका छन्। सुवेदीले त्यहाँ कार्यरत सुरक्षाकर्मीहरूको काम कारबाहीको जानकारी लिएर आवश्यक निर्देशन दिएका छन्।


