धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनमा प्रदेश सदस्य पदका लागि भोजबहादुर महरा ‘भूपेश’ ले उम्मेदवारी घोषणा गरेका छन्। आगामी असार १ गते हुने अधिवेशनलाई लक्षित गर्दै उनले प्रदेश सदस्य पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।
रास्वपाका संस्थापक सदस्यसमेत रहेका महरा पार्टी स्थापना कालदेखि नै सक्रिय रूपमा आबद्ध रहँदै आएका छन्। हाल उनी पार्टीको सुदूरपश्चिम प्रदेश सचिवालय सदस्यको जिम्मेवारीमा रहेका छन्। बैतडीको दोगडाकेदार गाउँपालिकाका स्थायी बासिन्दा महराले पार्टी संगठन विस्तार, सुशासन र जनउत्तरदायी राजनीतिक अभ्यासका पक्षमा निरन्तर काम गर्दै आएको बताएका छन्।
उम्मेदवारी घोषणा गर्दै महराले सुशासन र पारदर्शिता, युवा नेतृत्वको विकास, सशक्त संगठन निर्माण, समावेशिता र समान अवसरलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। समृद्ध सुदूरपश्चिम निर्माण, जवाफदेही नेतृत्वको विकास तथा पार्टीलाई जनताको अपेक्षाअनुसार अघि बढाउने आफ्नो लक्ष्य रहेको उनले बताएका छन्।
“नयाँ सोच, नयाँ विकल्प, देशको लागि समर्पित” भन्ने नारासहित चुनावी मैदानमा उत्रिएका महराले पार्टीका प्रतिनिधि तथा सदस्यहरूलाई परिवर्तनको अभियानमा साथ दिन आग्रह गरेका छन्। उनले एकता, इमानदारिता, पारदर्शिता, जिम्मेवारी र समृद्धिलाई आफ्नो राजनीतिक मार्गदर्शनका रूपमा प्रस्तुत गरेका छन्।
रास्वपाको पहिलो सुदूरपश्चिम प्रदेश अधिवेशनबाट नयाँ प्रदेश नेतृत्व चयन हुने भएकाले यसलाई पार्टीको संगठनात्मक दृष्टिले महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ। उम्मेदवार महराले प्रदेश सदस्य पदमा आफूलाई विजयी गराई सुदूरपश्चिमको विकास र सुशासनको अभियानलाई थप प्रभावकारी बनाउन सहयोग गर्न सबैसँग अपिल गरेका छन्।


