धनगढी: धनगढी ४ चटकपुरमा रहेको सोफान कलेजको क्याम्पस प्रमुखमा रामचन्द्र शाही नियुक्त भएका छन । क्याम्पस प्रशासनले आइतबार क्याम्पस प्रमुखमा शाहीलाई नियुक्त गरेको हो । लामो समयदेखि शैक्षिक क्षेत्रमा सकृय रहेका शाहीले बेलचौतारा तनहुँमा रहेको नेपाल पुलिस स्कुलको प्रिन्सिपल भएर काम गरिसकेका छन ।
सोफान कलेज काठमाण्डौं विश्वविद्यालयबाट बिआइटी र बिएस ड्ब्लुको सम्बन्धन प्राप्त गर्ने सुदूरपश्चिममा पहिलो कलेज हो । यहाँ बिआइटी र बिएस ड्ब्लुका कोर्षहरु पढाइ हुनेछन ।
क्याम्पस प्रमुखमा नियुक्त भैसकेपछि शाहीले प्रतिक्रिया दिदै भने यस नयाँ जिम्मेवारीमा म कलेजको शैक्षिक गुणस्तर सुधार, प्रभावकारी शिक्षण प्रणालीको विकास, विद्यार्थीहरूको सर्वाङ्गीण विकास, तथा अनुशासित र सकारात्मक शैक्षिक वातावरण निर्माणलाई प्राथमिकतामा राखी पूर्ण इमानदारी, समर्पण र जिम्मेवारीका साथ कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
सोफान कलेजलाई गुणस्तरीय उच्च शिक्षाको एक उत्कृष्ट केन्द्रका रूपमा स्थापित गर्ने दिशामा सबै सरोकारवालाहरूबाट उचित मार्गदर्शन र सहकार्यको अपेक्षा गर्दछु शाहीले भने ।
यस कलेजको सञ्चालकको रुपमा यस क्षेत्रका सफल युवा उद्यमी शैलेश कुमार सिंह रहेका छन । सिंह विगत दुई दशकदेखि सुदूरपश्चिमको शिक्षा तथा उद्यमशिलताका क्षेत्रमा सकृय छन ।


