धनगढी । नेपाली कांग्रेसका नेता भीम बडुवाल ले विशेष महाधिवेशनलगत्तै निर्वाचन हुँदा नेपाली कांग्रेस धेरै क्षेत्रमा कमजोर बनेको बताएका छन् । नेपाली कांग्रेसले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम भेलालाई सम्बोधन गर्दै उनले पार्टीको हारका विभिन्न कारणबारे चर्चा गरेका हुन् ।
उनले विशेष महाधिवेशनपछि पार्टीभित्रको सक्रियता कमजोर भएको पनि बताए । ‘विशेष महाधिवेशन भएको पाँच दिन नबित्दै निर्वाचनमा जानुपर्यो । त्यसपछि ५० प्रतिशतभन्दा बढी साथीहरू सक्रिय भएनन्,’ उनले भने ।
उनका अनुसार चुनावमा घरमै बस्नु पनि पार्टीप्रति असहयोग गर्नु सरह हो । उनले कांग्रेस सधैँ सरकार निर्माणमा केन्द्रित भएको तर पार्टी संगठन बलियो बनाउन ध्यान नदिएको बताए । ‘कांग्रेसले सधैँ सरकार बनायो, सरकारमै ध्यान दियो, पार्टीलाई ध्यान दिएन । त्यसैले पनि हामी पराजित भयौँ,’ उनले भने ।
बडुवालले २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसलाई एक्लै चुनाव लडेको हेर्न कार्यकर्ताले चाहेको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० सँग गठबन्धन गरेर चुनाव लड्दा कार्यकर्तामा निराशा पैदा भएको बताए ।
बडुवालले रवि लामिछाने र बालेन्द्र शाह को प्रभावले पनि कांग्रेसलाई असर परेको बताए ।’अहिले हामी निर्वाचनमा हार्यौँ भन्दैमा निराश हुनुहुँदैन, अब अझ सशक्त रूपमा अघि बढ्नुपर्छ,’ उनले कार्यकर्तालाई आग्रह गरे ।हाल नेपाली कांग्रेसबाट उम्मेदवार बनेका १६ जना उम्मेदवारहरूले निर्वाचनमा आफ्नो जित–हारबारे रिपोर्टिङ गरिरहेका छन् ।


