कैलाली: होटल व्यवसायी संघ कैलालीको ३४औं वार्षिक साधारण सभा तथा ९औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट श्री केशव दत्त पाण्डेय पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ। उहाँको नेतृत्वमा सम्पूर्ण कार्यसमिति नै निर्विरोध चयन भएको हो। नव-निर्वाचित अध्यक्ष पाण्डेयले होटल व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायको प्रवर्द्धन तथा पर्यटन क्षेत्रको विकासका लागि सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले व्यवसायीबीच एकता, सहकार्य र समन्वयलाई थप मजबुत बनाउँदै संघलाई अझ प्रभावकारी बनाउने बताउनुभयो।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा अबेश कुमार चन्द, उपाध्यक्षमा भिम बहादुर शाही, महासचिवमा प्रजापति जोशी (प्रकाश), सचिवमा राकेश भट्ट, कोषाध्यक्षमा भगत बहादुर थापा तथा सह-कोषाध्यक्षमा बसन्ता भण्डारी बम निर्विरोध चयन हुनुभएको छ। यसैगरी सदस्यहरूमा केश बहादुर बोहरा, केशव चन्द, शोमराज सापकोटा, राधिका लम्साल, शुरेन्द्र थापा, कुलदीपध्वज थापा, इन्द्र सिंह चौधरी, धर्मेन्द्र बहादुर चन्द, वसन्ती चौधरी, प्रज्वल भट्ट, तेज बहादुर कलेल र भुपाल खतिवडा चयन हुनुभएको छ।
अधिवेशनमा सहभागी वक्ताहरूले होटल व्यवसाय पर्यटन क्षेत्रको महत्वपूर्ण आधार भएकाले यस क्षेत्रको विकासमा राज्यले विशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए। उनीहरूले व्यवसायीहरूबीचको एकता र सहकार्यबाट मात्र चुनौतीहरूको सामना गर्न सकिने उल्लेख गरे। नव-निर्वाचित कार्यसमितिलाई विभिन्न क्षेत्रका प्रतिनिधिहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।



