धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–६ जालीस्थित पिपल चौकमा रहेको थारु समुदायको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको देउथान ठनुवा परिसरमा माटो भरान गरी स्तरोन्नति गरिएको छ।
स्थानीय व्यवसायी करन चौधरीको पहलमा करिब २० ट्रिप ट्र्याक्टरमार्फत माटो ल्याई भरान गरिएको हो। देउथान ठनुवा वरपर खाल्डाखुल्डीका कारण क्षेत्र अस्तव्यस्त तथा कुरुप बन्दै गइरहेको अवस्थामा स्थानीयहरुको सक्रियतामा सुधार कार्य अघि बढाइएको हो।
यस कार्यका लागि करन चौधरीसहित श्रवण देउवा, अर्जुन महतो र भलमन्सा दशिराम चौधरीलगायतको टोलीबीच भएको छलफलपछि मर्मत सम्भार तथा फिल्ड मिलाउने उद्देश्यले माटो भरान गरिएको जनाइएको छ।
भलमन्सा दशिराम चौधरीले देउथान ठनुवाको संरक्षण र सौन्दर्यकरणमा सहयोग पुर्याएकोमा करन चौधरीलाई धन्यवाद दिँदै अन्य सहयोगी दाताहरुलाई समेत यस्ता सामुदायिक कार्यमा हातेमालो गर्न आग्रह गरेका छन्।


