धनगढी: प्रसिद्ध भारतीय पार्श्वगायिका आशा भोसलेको निधन भएको छ । मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा उनको ९२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्मयहरूले उल्लेख गरेका छन् । उनी हृदयाघात ९कार्डियाक अरेस्ट० भएपछि शनिबार अस्पताल भर्ना भएकी थिइन् । आशा भोसले भारतीय संगीत जगतकी एक अद्वितीय स्वरकी धनी थिइन् । उनको संगीत यात्रा बाल्यकालदेखि नै सुरु भएको थियो ।
उनका पिता दीनानाथ मंगेशकर शास्त्रीय संगीतका ज्ञाता थिए । परिवारमा संगीतको वातावरण भएकै कारण उनी र उनकी दिदी लता मंगेशकर दुवै सानैदेखि गायनमा लागेका थिए । यद्यपि, लताजस्तो महान गायिकाको छायाबाट बाहिर निस्केर आफ्नै पहिचान बनाउन आशालाई लामो संघर्ष गर्नुपरेको थियो । उनको निधनसँगै भारतीय संगीत जगतले एक युगीन स्वर गुमाएको छ ।
नेपालमा पनि ख्याती
आशाले भारतमा मात्रै होइन, नेपालमा समेत आफ्नो जादुमय स्वरको छाप छोडेकी छन् । दर्जनौँ नेपाली चलचित्रका गीतमा उनले स्वर भरेकी छन् । गैरी खेतको शिरै हान्योुदेखि एउटा मान्छे मन पर्छ बोल्नै सक्दिनँ लगायतका उनका गीत नेपालमा अत्यधिक रुचाइएका छन् । यसका साथै उनले गाएको आज हाम्रो भेट भाको दिन, नचिनेझैँ गर्दैछौ किन ? गीत पनि नेपालमा धेरै चलेको गीत हो । बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर, यो हो मेरो प्राणभन्दा प्यारो माइतीघरुदेखि को होला मेरो मायालुु बोलको गीत पनि नेपालमा खुबै चलेको छ ।
नारायण गोपालसँग आशाले गाएको मोहनी लाग्ला है तथा माया त माया हो बोलका गीतहरू अहिले पनि धेरै स्रोताको रोजाइमा पर्छन् । यसबाहेक भोसलेको कालजयी आवाजमा सजिएका अन्य थुप्रै गीतहरू नेपाली चलचित्रमा समेटिएका छन् । चिनो फिल्मको ‘मोहनी लाग्ला है’ बोलको गीत आशा भोसलेको चर्चित मध्येको गीत हो । नारायण गोपाल र भोसलेले स्वर दिएको यो गीत चर्चित गीतमा पर्छ । ज्वाला फिल्मको ‘आज हाम्रो भेट भाको दिन’ बोलको उत्तिकै कर्णप्रिय गीतमा पनि आशाकै स्वर छ ।
यो गीतमा उदितनाराण झा, साधना सरगम र कविता कृष्णमूर्तिले पनि स्वर भरेका थिए । तिहार गीतको रूपमा चर्चित चिनो फिल्मको ‘दियो बाली साँझ’को सदाबहार गीतमा भोसलेले सुमधुर आवाज दिएकी छिन् । यसमा नारायण गोपाल र कुमार कान्छाले पनि स्वर दिएका छन् ।


