धनगढी । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल ले सीमा क्षेत्रमा हुने अपराध, तस्करी र सुरक्षाकर्मीमाथिको आक्रमणप्रति शून्य सहनशीलता अपनाउन मातहतका सुरक्षाकर्मीलाई कडा निर्देशन दिएका छन्। कैलालीको अत्तरियामा आइतबार आयोजित सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीको २५औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै आईजीपी अर्यालले अपराध, चोरी र तस्करीमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताए।
“अपराधी र तस्करलाई माया गर्ने होइन, कानुनले ठोक्ने हो,” उनले स्पष्ट शब्दमा भने। आईजीपी अर्यालले कैलालीको खक्रौला सीमा सुरक्षा गुल्म (बीओपी) भित्र प्रवेश गरेर तत्कालीन गुल्मपति डीएसपी प्रदीप पौडेल सहित सुरक्षाकर्मीमाथि भएको आक्रमणजस्ता घटना फेरि दोहोरिन नदिन विशेष सतर्क रहन निर्देशन दिए।
उक्त घटनालाई संगठनले अत्यन्त गम्भीर रूपमा लिएको उल्लेख गर्दै उनले यस्ता अवस्थामा कानुनले आवश्यक बल प्रयोग गर्न नरोकेको स्पष्ट पारे। सरकारी सुरक्षा युनिटभित्र घुसेर लुटपाट, हतियार खोस्ने वा सुरक्षाकर्मीमाथि हमला गर्नेविरुद्ध तत्काल प्रतिवाद गर्नुपर्ने उनको जोड थियो। “सीमा सुरक्षा गुल्म खक्रौलाभित्र पसेर गैरकानुनी हर्कत भएको छ। यो विषयलाई संगठनले गम्भीर रूपमा हेरेको छ,” अर्यालले भने, “हतियार लुट्न आउने, डाका गर्न आउनेलाई प्रतिवाद गर्दा ज्यान तलमाथि परे पनि कानुनले छेकेको छैन।”
उनले खक्रौलाजस्ता घटना पुनः नदोहोरियोस् भनेर मातहतका अधिकृतलाई सचेत गराउँदै घटनाका बेला रमिते बनेर फोटो खिच्दै बस्ने सुरक्षाकर्मीलाई निलम्बनसहित कारबाही गरिने चेतावनी पनि दिए। खक्रौलामा सामान बरामद गर्ने विषयमा विवाद हुँदा एक समूहले गुल्मभित्रै प्रवेश गरेर गुल्मपति डीएसपी प्रदीप पौडेलसहित सुरक्षाकर्मीमाथि आक्रमण गरेको थियो। त्यसपछि डीएसपीसहित घटनाका बेला गुल्ममा उपस्थित सबै सुरक्षाकर्मीलाई मुख्यालय तानेर छानबिन प्रक्रिया अघि बढाइएको छ।


