धनगढी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टको गाडी शनिवार पिकनिकमा दुरुपयोग गरिएको छ । शनिवार बिदाका दिन कनेरी पार्कमा आयोजना गरिएको पिकनिकमा उनको गाडी दुरुपयोग गरिएको हो ।
बिदाको दिन सरकारी गाडी प्रयोग गर्न नमिल्ने भए पनि खगराज भट्टले भने अनुमति बिनै पिकनिकमा गाडी प्रयोग गरेका छन् । भट्टले संसदीय दलको नेताको हैसियतले प्रदेश सभा सचिवालयबाट गाडी प्रयोग गर्दै आएका छन् ।
उनले भने कनेरीमा जनतासँग भेटघाट गर्न गएर फर्किदा साथीहरू भेटिएपछि एक छिन पिकनिकमा गएको बताएका छन् । ‘म अर्कै काममा गएको हो । एक छिन साथीहरू भेटिएपछि उभिएको मात्रै हो’
उनले भने ‘म प्रदेश सभाकै काममा गएको हो । म कनरी तिर गएको थिए । अस्ति जनताहरूले केही माग राखेका थिए । त्यो विषयमा शनिवार अलि डिटेलमा कुरा गरौला भनेर भनेको थिए ।’ उनले शनिवार गाडी चलाउन लिखित अनुमति भने नभएको बताए । यद्यपि उनले प्रदेश सभा सचिव सँग कुरा गरेर ३५ लिटर तेल लिएरै कनेरी गएको बताए ।
प्रदेश सभा सचिव देव बहादुर बोगटीले भने जेनजी आन्दोलन पछि शनिवार सरकारी सवारी साधनलाई अनुमति दिन बन्द गरिएको बताए ।
उनले आफूलाई बिहान फोन गरेर तेल माग गरे पनि आफूले शनिवार हो भन्ने कुरा ध्यानमा नभएर पेट्रोल पम्पमा तेलका लागि भनिदिएको बताए । उनले शनिवारका लागि लिखित रूपमा दिनुपर्ने भए पनि पास दिन बन्द भएकाले रिस्क लिएर जाने गरिएको बताए ।


