धनगढी: कैलाली जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १८ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ कैलालीका प्रमुख ईश्वरी प्रसाद ज्ञवालीका अनुसार कुल १८ हजार ३६४ परीक्षार्थीमध्ये ९ हजार ६०५ छात्रा र ८ हजार ७५९ छात्र रहेका छन् ।
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सुरु भई चैत २९ गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार परीक्षा प्रत्येक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिनेछ । परीक्षाका लागि जिल्लामा ५५ वटा केन्द्र तोकिएका छन् । प्रत्येक केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति, परीक्षा केन्द्र निर्धारण तथा उत्तरपुस्तिका सम्बन्धित केन्द्रमा पठाउने काम सम्पन्न भइसकेको जनाइएको छ । साथै, प्रश्नपत्र जिल्ला प्रहरी कार्यालय कैलालीमा आइपुगेको र केही दिनभित्र नजिकका इलाका प्रहरी कार्यालयमार्फत परीक्षा केन्द्रमा पु¥याइने तयारी भइरहेको छ । प्रमुख ज्ञवालीले विद्यार्थीहरूलाई आवश्यक तयारी गरी बिना डर–त्रास आत्मविश्वासका साथ परीक्षामा सहभागी हुन गर्नुभएको छ । परीक्षालाई सहज र व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी पूरा भएको पनि उहाँले बताउनुभयो ।
गत वर्ष २०८१ को एसइईमा कैलालीबाट १८ हजार ७५१ विद्यार्थी सहभागी भएका थिए। जसमध्ये ७ हजार ५२३ जना (करिब ४० प्रतिशत) उत्तीर्ण भएका थिए। त्यसमध्ये ७ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका थिए, जसमा १ जना सामुदायिक र ६ जना निजी विद्यालयका विद्यार्थी रहेका थिए ।

